बैतडी–चाडबाडको मुखमा बैतडीवासीले अन्धकार र सास्तीको सामाना गर्नुपरेको छ । पाटन फिडर अन्तर्गतको ११ के.भी. प्रसारण लाइनमा पर्ने देहीमाण्डौ क्षेत्रमा कसैले निर्धक्क रूपमा रुख काटी सीधै उच्च भोल्टेजको विद्युत लाइनमै फालिदिएपछि आज दिउँसोदेखि सिंगो क्षेत्रको विद्युत सेवा ठप्प बनेको छ ।
घटनापछि नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले सामाजिक सञ्जाल फेसबुकमा ‘मर्मत भइरहेको’ र ‘ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी’ रहेको तयारी वक्तव्य टाँसेर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको छ । तर, पटक–पटक दोहोरिने यस्ता अराजक गतिविधि र प्राधिकरणको निरीहताप्रति सर्वसाधारणको आक्रोश अहिले उत्कर्षमा पुगेको छ ।
विद्युत ऐन, २०४९ अनुसार राष्ट्रिय प्रसारण लाइन वा विद्युत पूर्वाधारमा क्षति पु¥याउनु, अवरोध सिर्जना गर्नु वा जोखिम निम्त्याउनु गम्भीर फौजदारी अपराध हो । कसैको व्यक्तिगत स्वार्थका लागि हजारौँ नागरिकलाई अन्धकारमा राख्ने र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने व्यक्ति वा समूहलाई तत्काल नियन्त्रणमा लिई क्षतिपूर्तिसहित कडा कानुनी कारबाही हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था छ ।
तर, बैतडीमा यस्ता गैरजिम्मेवार हर्कत गर्नेहरूमाथि कहिल्यै कारबाही नहुँदा क्षति पु¥याउने व्यक्तिको मनोबल बढेको र यो नियति पटक पटक दोहोरिने गरेको स्थानीयको आरोप छ ।
दसैँ–तिहार जस्ता ठूला चाडबाडको समयमा गाउँ घरमा उज्यालो र खुसियाली हुनुपर्नेमा बत्ती नहुँदा सर्वसाधारण, व्यापारी तथा बिरामीहरूसमेत मारमा परेका छन् ।
समस्या परेपछि सामाजिक सञ्जालमा ‘क्षमाप्रार्थी’को नाटक गर्ने बैतडी वितरण केन्द्रको गैरजिम्मेवारपन अर्को ठूलो विषय बनेको छ । विद्युत कहिले आउँछ वा वास्तविकता के हो भनेर सोधपुछ गर्न नागरिकले फोन गर्दा वितरण केन्द्रका जिम्मेवार अधिकारी र कर्मचारीको फोन नै नउठ्ने गरेको छ ।
नागरिकले प्रश्न गरेका छन “के फेसबुकमा सूचना टाँस्दैमा प्राधिकरणको दायित्व पूरा हुन्छ ? सार्वजनिक सेवा ठप्प पार्नेलाई कारबाही गर्ने आँट प्राधिकरण र स्थानीय प्रशासनसँग छ कि केवल ’क्षमाप्रार्थी’ बनेर जनतालाई अन्धकारमै थुनिरहने हो?“
स्थानीयहरूले रुख काट्नेलाई तत्काल पहिचान गरी सार्वजनिक गर्न, क्षतिपूर्ति भराउन र चाडबाडका बेला अविलम्ब निर्बाध विद्युत आपूर्ति सुचारु गर्न आग्रह गरेका छन् ।




