Sagun Khabar
बैतडीमा सोमबारदेखि निषेधाज्ञा लागू हुने 

बैतडी–बैतडीमा सोमबारदेखि निषेधाज्ञा जारी हुने भएको छ । आइतबार बसेको जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिश गरेपछि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निषेधाज्ञा जारी गरेका हुन् । 

जिल्लामा कोरोना भाईरसको संक्रमण तीव्र गतिमा फैलिरहेकाले संक्रमण रोक्नका लागि जेठ २ गते सम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सोमबार बिहानदेखि जेठ २ गते राती १२ बजेसम्म जिल्लामा निषेधाज्ञा लागू हुने उनले बताए । उनले भने ‘जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्न सिफारिश गरेपछि भोलीदेखि निषेधाज्ञा लागू गर्ने निर्णय गरेका छौं । कोरोना संक्रमण नफैलियोस भनेर हामीले निषेधाज्ञा जारी गरेका हौं । निषेधाज्ञाको पालना गर्न सबै जिल्लाबासीमा अनुरोध गर्दछु ।’

निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिडडुँल गर्न पाइनेछ । खाद्यान्न तथा तरकारी पसल बिहान ७ देखि १० बजे सम्म मात्रै खोल्न पाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । 

यस्तै कुनै निर्माणका कामहरु गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिश गरेमा आवश्यकताका आधारमा ती कामहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । उनले भने ‘कुनै विकास निर्माणका योजनाको काम अघि बढाउँदा संक्रमण नफैलिने सुनिश्चितता भएको अवस्थामा त्यस्ता आयोजनामा मात्रै काम गर्न दिन्छौं । अन्यथा सबै विकास निर्माणका काम समेत रोक्न भनेका छौं ।’

यसैगरी विवाह,ब्रतबन्ध जस्ता कार्यहरु थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । 

कसैले निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने बताइएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले भने ‘यो नागरिकको जीउधनको सुरक्षाका लागि अपनाएको बाटो हो । यसमा कसैले बाधा पुर्याएमा कानुन अनुसार कारवाही हुन्छ ।’

बैतडीमा कोरोनाका संक्रमितको संख्या बढ्दै गएपछि जनस्तरबाट समेत निषेधाज्ञा लागु गर्नुपर्ने आवाज उठेको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update