Sagun Khabar
बैतडीमा आजदेखि निषेधाज्ञा शुरु 
फोटो :जिल्लामा निषेधाज्ञा लागू भएपछि सुनसान मुस्याचोर बजार, तस्बिर :सुरेश महरा  

बैतडी–बैतडीमा आजदेखि पूर्णरुपमा निषेधाज्ञा लागू भएको छ । आइतबार बसेको जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिशका आधारमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निषेधाज्ञा जारी गरेका हुन् । 

सोमबार बिहान देखि आगामी जेठ २ गते राती १२ बजे सम्म निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को प्रयोग गरेर निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

निषेधाज्ञा लागू भएपछि बैतडीमा सवारी साधन आवागमन पूर्ण रुपमा बन्द भएको छ । यस्तै अनावश्यक रुपमा हिँडडुल गर्न रोक लगाइएको छ । यस्तै अतिआवश्यक बाहेकका सबै सार्वजनिक सेवा बन्द गरिएका छन् भने बैंक तथा बित्तीय संस्थाहरुले स्वास्थ्यका मापदण्ड अपनाएर नगद जमा गर्ने, नगद झिक्ने र रेमिट्यान्सको काम सञ्चालन गर्न दिने आदेशमा उल्लेख गरिएको छ । 

यस्तै सार्वजनिक निर्माणका काम सम्बन्धित आयोजना प्रमुखको सिफारिशमा जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृत लिएर मात्रै स्वास्थ्यका मापदण्ड अपनाएर सञ्चालन गर्न पाइनेछ । निषेधाज्ञाको समयमा खाद्यान्न तथा तरकारीका पसल बिहान ७ बजेदेखि बिहान १० बजे सम्ममात्रै खुला गर्ने निर्णय भएको छ भने अन्य पसलहरु पूर्ण रुपमा बन्द रहेका छन् । 

औषधि तथा स्वास्थ्य सामग्री, दुग्धजन्य पदार्थका पसल र पेट्रोलियम पदार्थका पसलहरु स्वास्थ्यका मापदण्ड अपनाएर खुला रहनेछन् भने मदिराको विक्रि वितरणमा पूर्ण रुपमा रोक लगाइएको छ । 

निषेधाज्ञाको समयमा कालोबजारी गरेमा कानुन अनुसार कारवाही हुने प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा उल्लेख गरिएको छ । 

निषेधाज्ञाको समयमा एम्बुलेन्स, स्वास्थ्य सामग्री ढुवानी गर्ने सवारी साधन,दुर सञ्चार र इन्टरनेटका सवारी साधन सञ्चालनमा रहनेछन् । तर ती साधनहरुसंग स्पष्ट खुल्ने कागजात भने हुनुपर्नेछ । यस्तै निषेधाज्ञाको समयमा भीडभाड हुने खालका सबै कार्यक्रममा रोक लगाइएको छ । 

विवाह ब्रतबन्ध जस्ता सामाजिक तथा धार्मिक कार्यहरु कमभन्दा कम मानिसको सहभागितामा गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेमा कानुन अनुसार कारवाही हुने बताइएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update