Sagun Khabar
अझै ओभाएनन् साउँद दम्पतीका आँखा

बैतडी – जिल्लाको शिवनाथ गाउँपालिका १ का गोलुसिंह साउँद (चक्र) र उनकी श्रीमति इन्द्रा साउँद अझै राम्ररी होसमा आउन सकेका छैनन् । दुई छोराछोरी महाकालीमा बगेपछि साउँद दम्पतीलाई निकै समस्या भएको छ । 

लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएका साउँद दम्पतीका दुई छोरा र एक छोरी थिए । गएको दशैंमा गाउँमा पूजापाठका लागि पञ्जाबाट उनीहरु शिवनाथ पुगेका थिए । दशैंको पूजा सकिएपछि यही कार्तिक १० गते उनीहरु साँझ भारतको पञ्जाबका लागि हिँडे । 

कार्तिक १० गते साँझ पारीपट्टी भारततिर पुग्नै लाग्दा डुंगा पल्टियो । डुंगामा सवार १२ बर्षीया मीना साउँद र ८ बर्षीय सन्दीप साउँदको ज्यान गयो । सन्दीपको शव अझै पनि फेला परेको छैन् । 

Atrya hospital

काखबाटै महाकालीले दुई जना छोराछोरी खोेसेपछि अहिले साउँद दम्पतीलाई निकै समस्या भएको छ । छोराछोरीको सम्झनामा गोलु साउँद टोलाउँदै महाकालीको नागार्जुन(खाँड) घाट नजिकै पुग्छन् । बगिरेहको महाकाली नियालेर हेर्छन् । उनका आँखामा बलिन्द्र आँशु मात्रै बग्छन् । भन्छन् ‘काखमै बसेका छोराछोरी पापी महाकालीले खोस्यो । मेरो संसार उजाड बनायो । अब कसरी बाँच्ने ?’

महाकाली नदीमा डुंगा पल्टिएपछि इन्द्रा साउँद जसोतसो पौडिएर बाँचिन । तर यताउता हेर्दा छोराछोरी नदेखेपछि फेरी हाम फाल्न तम्सिइन । एकजना डुंगा चालकले उनलाई महाकालीमा हाम फाल्नबाट रोके । भक्कानिँदै इन्द्राले भनिन् ‘मेरो छोराछोरी गयो । मैले बाँचेर के काम ? मेरो संसार उजाड बनाउनेलाई कारवाही हुन्छ कि हुँदैन् ।’

१२ बर्षीया मीना साउँदको शव फेला परेपछि उनीहरुले अन्तिम संस्कार पनि भारत तर्फ नै गरे । तर सन्दीपको शव अझै फेला परेको छैन् । गोलुले भने, ‘म मेरो संसार उजाड भएको कसरी सहुँ ? सन्दीप सपना आएर बाबा दीदीलाई सुताउनुभयो मलाई किन छोड्नु भयो भनेर भन्छ । यस्तो अवस्थामा म कसरी बाँचु ?’

शिवनाथ गाउँपालिका वडा नं १ नागार्जुन (खाँड) घाटमा डुंगा चलाउने अनुमति नभएपनि स्थानीय ठेकेदारले मनोमानी डुंगा चलाउँदा दुर्घटना भएको छ । डुंगा चालक फरार रहे पनि सो घटनालाई मिलाउने प्रयास भएको पीडित गोलुसिंह साउँदले बताए । उनले भने ‘म जिल्ला प्रशासन कार्यालय सम्म पुगे । मलाई ठेकेदारले ४० हजार खर्च भनेर दिएको छ । म यो पैसा फिर्ता गर्छु । मलाई न्याय पाइनुपर्छ ।’

महाकालीमा दुईजना नातीनातनी बगेपछि ७५ बर्षीय सुर्मादेवी चाडलाई निकै असह्य भएको छ । जीवनको उत्तराद्र्धमा यस्तो दुःख परेपछि उनलाई जीउन मुस्किल भएको छ । रुँदै उनले भनिन् ‘मैले यो उमेरमा छोरीज्वाँईको यस्तो दुःख देख्नुपर्यो । यस्तो अवस्थामा समेत कसैले सहयोग गरेनन् ।’

दुर्घटना भएको ठाउँमा जनप्रतिनिधि पुगेनन् 

नागार्जुन (खाँड) घाटमा डुंगा पल्टिएको १५ दिन पूरा भईसकेको छ । सो दुर्घटनामा एकै परिवार दुई जना कलिला बालबालिकाको ज्यान समेत गयो । पीडित परिवारलाई भेट्न र उनीहरुका समस्या बुझ्न अहिले सम्म जनप्रतिनिधि पुगेका छैनन् । ‘वडामा जनप्रतिनिधि छन् भन्थे । गाउँपालिकामा जनप्रतिनिधि छन् भन्थे तर अहिले सम्म कसरी घटना भयो ? के भयो भनेर समेत कोही सोध्न नै आएनन् ।’पीडित इन्द्रा साउँदले भनिन् ‘सरकार हाम्रा लागि पनि हो र ? कसका लागि सरकार रहेछ ।’

पीडित परिवारलाई भेट्न वडा अध्यक्ष, गाउँपालिकाका जनप्रतिनिधि कोही पनि नआएको पीडितका दाजु बल्देवसिंह चाडले बताए । उनले भने ‘जुन घाटमा दुर्घटना भयो, सोही घाटबाट बिहान वडा अध्यक्ष तरेर नेपाल आएका रहेछन् । तर घटना भएपनि उनलाई मतलब नै छैन् ।’

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले भने बेमौसमी बर्षाका कारण पालिकाका अन्य ठाउँमा पनि विपद् भएकाले पीडित परिवारलाई भेट्न नसकेको बताएका छन् । उनले भने ‘केही दिनभित्रै पीडित परिवारलाई ५० हजारका दरले राहत दिन्छौं । अन्य ठाउँमा पनि विपद् भएका कारणले समयमा जान सकेका छैनौं ।’

मापसे गरेर डुंगा चलाएको आरोप 

नागार्जुन (खाँड) घाटमा डुंगा दुर्घटना हुनुको मुख्य कारण चालकले मापसे गरेको पीडित परिवारले आरोप लगाएका छन् । महाकाली पारीपट्टी पुग्ने बेलामा डुंगा ढुंगामा ठोक्किएर पल्टिँदा समेत चालकहरुले केही नगरी भागेको पीडितको आरोप छ । दुर्घटना हुने बित्तिकै मुख्य चालक भाग्दा आफूले बालबालिका गुमाएको पीडित गोलुसिंह साउँद (चक्र)ले बताए । 

डुंगा चलाउन ठेक्का लिएका ठेकेदारले समेत लापरवाही गरेको पीडित परिवारको आरोप छ । मादक पदार्थ सेवन गरेका चालकलाई डुंगा चलाउन दिएको आरोप लागेको हो । तर ठेकेदार धनसिंह साउँदले भने सो कुरा अस्वीकार गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update