Sagun Khabar
बैतडी जिप दुर्घटना :घाइते तीनजनालाई धनगढी रेफर गरियो 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका ६ मा भएको जिप दुर्घटनामा घाइते भएका तीनजनालाई धनगढी रेफर गरिएको छ । जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि घाइते ४ जना मध्ये तीनजनालाई धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 
३० बर्षीय हरिसिंह भण्डारी,२८ बर्षीय मदनसिंह भण्डारी, र २४ बर्षीय दिलिपसिंह भण्डारीलाई उपचारका लागि धनगढी रेफर गरिएको हो । उनीहरुलाई मंगलबार साँझ नै रेफर गरिएको हो । घाइते मोहनसिंह भण्डारीको भने जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको छ । 
दुर्घटनामा परी मृत्यु भएका सबै ६ जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरी प्रवक्ता खड्काले बताए  । मंगलबार दिउँसो शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको बोलेरो जिप पञ्चेश्वर गाउँपालिकाको गणमेश्वर मन्दिर नजिक दुर्घटनामा परेको थियो । 
सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १८३ नम्बरको जिप दुर्घटनामा परेको हो । 
सो दुर्घटनामा ४ जनाको घटनास्थलमै र २ जनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० बर्षीय जीतसिंह भण्डारी, ३० बर्षीय डम्मरसिंह भण्डारी, २७ बर्षीय हिम्मत भण्डारी र  ४० बर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको हो भने जिप चालक चालक तेजबहादुर बोहरा र स्थानीय ५० बर्षीय खेमसिंह भण्डारीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रामसिंह पुजाराले बताए । 
जिप सडकबाट करीब ५सय मिटर तल खसेको बताइएको छ । साँघुरो घुम्तीमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update