Sagun Khabar
एकै गाउँका ६ जनाको अकल्पनीय निधन, पुरै गाउँ शोकमा डुब्यो 

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ६ को देवल गाउँ अहिले शोकाकुल बनेको छ । गाउँका मानिस विक्षिप्त अवस्थामा छन् । गाउँमा शुन्यता छाएको जस्तो छ । गाउँमा अल्कपनीय दुर्घटनाले एकै ठाउँका सातजनाको ज्यान लिएपछि गाउँ नै शोकमा डुबेको छ । सबैको मुखमा हे भगवान यो कसरी भयो ? भन्ने मात्रै आईरहेको छ ।

सोमबार चट्याङ लागेर पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा सदस्य समेत रहेका गोविन्दसिंह भण्डारी मृत्यु भयो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा जिप दुर्घटना हुँदा थप ६ जनाको ज्यान गयो । जिप चालक सहित एकै गाउँका सात जनाको अकल्पनीय निधनले गाउँ शोकमग्न भएको मृतकका आफन्तहरुले बताएका छन् । 

गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गर्दा मंगलबार भएको दुर्घटनामा उनका सहोदर दाजु खेमसिंह भण्डारी सहित थप ६ जनाको मृत्यु भयो । ‘सबै जनाका शव अस्पतालमा छन् । यो अकल्पनीय दुर्घटनाले निकै स्तब्ध बनाएको छ । हामीले एकजना मिलनसार साथी गुमाएका छौं ।’पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रामसिंह पुजाराले भने, ‘पीडामाथि पीडा थपिएको छ । एकै घरका भनौं ६ जनाको ज्यान गएको छ । गाउँ शोकमा डुबेको छ । यस्तो अवस्थामा घरपरिवारका सदस्यहरु विक्षिप्त छन् । कसैले कसैलाई केही भन्न सकिने अवस्था छैन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

एकै ठाउँका ६ जनाको एकै चिहान भएपछि गाउँ पुरै शोकमग्न भएको स्थानीय विकास भण्डारीले बताए । उनले भने ‘यस्तो अकल्पनीय घटना कहिले देखेको थिएन् । फिल्ममा हेर्दा यस्ता दृश्य देखिन्थे । तर आफ्नै गाउँमा यस्तो हुँदा निकै समस्या भईरहेको छ ।’

साँघुरो मोडमा जिप मोड्नै लाग्दा दुर्घटना भएको हो । सो दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भयो भने दुई जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भयो । ‘यो घटना पञ्चेश्वरका लागि निकै दुखद छ । पञ्चेश्वर गाउँपालिकाका लागि मंगलबार  कालो दिन साबित भएको छ । पीडित परिवारलाई कसरी सान्त्वना दिन सकिन्छ । यो बिषयमा गाउँपालिकाले सोचीरहेको छ । अहिले मृतकको शव व्यवस्थापनमै लागेका छौं ।’गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले भने, ‘यस्तो घटनाको कल्पना नै गरेका थिएनौं । पीडामाथि पीडा थपिएको छ ।’

वडा सदस्य गोविन्द भण्डारी गुमाएको पीडा नसकिँदै दोश्रो दिन उनकै गाउँले थप ५ जनाको एकै चिहान भएपछि अहिले देवल गाउँका मानिसका आँखामा आँसु मात्रै छ । यो घटनाले साह्रै दुखित तुल्याएको गाउँपालिका अध्यक्ष चन्दले बताए । 

साँघुरो मोडले लियो ज्यान 
सोमबार साँझ चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याउनु थियो । सोमबार साँझकै घटना भएपनि प्रहरीको टोली पुगेपछि मात्रै शव जिल्ला अस्पताल ल्याउने तयारी भयो । देवल गाउँ उसै पनि शोकमै डुबेको थियो । धार्मिक तथा सामाजिक व्यक्तित्व गोविन्दसिंह भण्डारीलाई गुमाउँदा गाउँ नै भावविह्वल बनेको थियो । 

घरपरिवार र आफन्तसहित गोविन्द भण्डारी शव भएको जिपमा चढे । सबैभन्दा अघि त्यही जिप थियो । त्यसपछि गाउँपालिका अध्यक्षको गाडी र त्यसपछि प्रहरीको गाडी । 

गणमेश्वर मन्दिर नजिकैको मोडमा गाडी ब्याक गरेर मोड्ने क्रममा से १ ज १८३ नम्बरको जिप झण्डै ५ सय मिटर तल खस्यो । एकाएक जिप खसेपछि उद्धारका लागि सबै दगुरे । ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्का बताउँछन् । उनले भने ‘साँघुरो मोडकै कारण ६ जनाको ज्यान गयो । चारजनाको घटनास्थलमा र दुई जनाको अस्पताल पुर्याउँदै गर्दा मृत्यु भयो । ग्रेड नमिलेको सडककै कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष छ ।’

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update