Sagun Khabar
कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा सकस  
फाइल फोटो


बैतडी–बैतडीको दशरथचन्द नगरपालिका ९ ग्वाल्लेक ३२ बर्षीय युवाको कोरोनाका कारण वैशाख १४ गते डडेल्धुरा अस्पतालमा मृत्यु भयो । उपचारका क्रममा मृत्यु भएका ती व्यक्तिको शव शुरुमा डडेल्धुरामै व्यवस्थापन गर्ने तयारी पनि भयो । तर शव व्यवस्थापनका लागि उपयुक्त ठाउँ नहुँदा शव नै बैतडी ल्याउनुपर्यो । 

शव व्यवस्थापनका लागि बैतडी ल्याईसकेपछि दशरथचन्द नगरपालिकाले वडा नं ८ को मौराबगरमा मृतकको शव व्यवस्थापन गर्ने निर्णय गरेर नेपाली सेनालाई शव व्यवस्थापनका लागि आग्रह गर्यो । बैतडीमा रहेको नेपाली सेनाको हनुमानध्वज गुल्मबाट खटिएको टोलीले मृतकको शव मौराघाटमा पुर्याएपनि स्थानीयहरुको अवरोधका कारण त्यो ठाउँमा व्यवस्थापन गर्न सकेन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

हामीले वैशाख १५ गते साँझको समयमा तोकेको ठाउँमा शव पुरयायौं । त्यहाँ स्थानीयको अवरोध हुँदा फेरी अर्को ठाउँमा शव व्यवस्थापन गर्नुपर्यो । यसले गर्दा मृतकका आफन्तहरुलाई समेत समस्या भयो । हामीलाई पनि निकै समस्या भयो ।’हनुमानध्व गुल्मका निमित्त गुल्मपति गिरिजा भट्टले भने, ‘विपद्को समयमा शव व्यवस्थापनका लागि स्थानीय तहहरुले निश्चित ठाउँ तोक्नु उपयुक्त हुन्छ । भोलीका दिनमा अरुका लागि पनि समस्या आउन सक्छ ।’

बुधबार पाटन नगरपालिका वडा नं १ का एकजना शिक्षकको कोरोनाबाट निधन भएपछि नगरपालिकाले तिपडाघाटमा शव व्यवस्थापनका लागि नेपाली सेनालाई नै आग्रह गर्यो । हिन्दू परम्परा अनुसार शव व्यवस्थापन गर्न आग्रह गरेपनि दाउरा लगायतको व्यवस्थापन नहुँदा नेपाली सेनाको टोलीलाई त्यहाँ पनि समस्या भयो । 

कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका बिषयमा दशरथचन्द नगरपालिकाले पनि अहिले सम्म कुनै ठोस निर्णय गरिसकेको छैन् । मृत्युका घटनाहरु बढ्न सक्ने भएकाले शव व्यवस्थापनका लागि उपयुक्त ठाउँको व्यवस्थापन गर्नुपर्ने गुल्मपति भट्ट जोड दिन्छन् । 

पाटन नगरपालिकाले पनि कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि खासै निर्णय गरिनसकेको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए । 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update