Sagun Khabar
बैतडीका १८ ठाउँमा आइसोलेसन सेन्टर 
फोटो : जगन्नाथ बहुमुखी क्याम्पसमा बनाइएको आइसोलेसन

बैतडी –बैतडीका १८ ठाउँमा आइसोलेसन सेन्टर सञ्चालनमा आएका छन् । जिल्लाका १० ओटै स्थानीय तहका विभिन्न ठाउँमा कोरोना संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन सेन्टर सञ्चालनमा आएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

१८ ठाउँमा २५६ बेडका आइसोलेसन सेन्टर तयार भएका उनले बताए । जिल्लामा ६ सय बढी सक्रिय संक्रमित भएपनि आइसोलेसनमा भने ११५ जना मात्रै बसेका छन् । अरु सबै होम आइसोलेसनमा बसीरहेका स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । उनले भने ‘अझै पनि धेरै जसोले स्वास्थ्य मापदण्डमा लापरवाही गरिरहेका छन् । यसले संक्रमण तीव्र फैलिरहेको छ । संक्रमितहरुलाई आइसोलेसनमा बस्न हामीले आग्रह गरेका छौं ।

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्ला अस्पताल बैतडीमा १६ बेडको आइसोलेसन सञ्चालनमा रहेको छ भने रेडक्रस भवन शाहीलेकमा १९ बेडको आइसोलेसन बनाइएको छ । यस्तै जगन्नाथ क्याम्पसमा ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको छ । 

यसैगरी पाटन नगरपालिका अन्तर्गत शहरी विकासको भवनमा २४ बेड,सिद्धेश्वर मावि हुक्केडाँडामा ७ बेड, उदयदेव मावि किम्तोलीमा १२ बेड र सिद्धेश्वर मावि मेलचोरामा १७ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । 

यस्तै अस्थायी कोरोना अस्पताल मेलौलीमा ५ बेड, अस्थायी कोरोना अस्पताल दोगडाकेदारमा १२ बेड, सुर्नयाको बासुलिंग स्वास्थ्यचौकीमा ३२ बेडको आइसोलेसन बनाइएको छ । 

यसैगरी अस्थायी कोरोना अस्पताल सिगासमा ८ बेड र सिगासकै गाँजरी स्वास्थ्यचौकीमा ९ बेडको आइसोलेसन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । 

यसैगरी अस्थायी कोरोना अस्पताल पुर्चौंडी, अस्थायी कोरोना अस्पताल शिवनाथ र अस्थायी कोरोना अस्पताल पञ्चेश्वरमा ५÷५ बेडका आइसोलेसन सञ्चालनमा ल्याइएको सम्बन्धित पालिकाहरुले जनाएका छन् । 

यसैगरी अस्थायी कोरोना अस्पताल डिलाशैनीमा १० बेडको आइसोलेसन निर्माण गरिएको बताइएको छ । शिवनाथ गाउँपालिकाको नागार्जुन माविमा १५ र शारदा माविमा ५ बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update