Sagun Khabar
महामारीको समयमा महंगीको मारमा जनता 

बैतडी –जिल्लाको सुर्नया गाउँपालिका ८ का कमल साउँद भारतबाट रोजगारी गुमाएर घर फर्केको एक महिना भएको । उनलाई अहिले घरपरिवार चलाउन निकै सकस छ । भारतको रोजगारीले धानेको परिवार धान्ने अर्को विकल्प छैन् । लगातारको खडेरीले यो बर्ष गहुँ उत्पादनमा पनि निकै गिरावट आयो । कोरोनाको दोश्रो लहर चलेपछि अहिले निषेधाज्ञा जारी रहेको छ । निषेधाज्ञाकै बीचमा चुलिएको महंगाईले अब चुल्हो बल्दैन कि भन्ने उनलाई लागेको छ ।

‘लकडाउन हुनुभन्दा पहिला ३ हजार ६ सय प्रति क्विन्टलका हिसाबले पाउने मोटो चामल अहिले ४ हजार ७ सय प्रतिक्विन्टलका दरले विक्रि भईरहेको छ । हामी जस्ता गरिबहरुका लागि भोकभोकै मर्ने दिन आए ।’साउँदले भने, ‘एकातिर रोजगारी गुमेको छ । अर्कोतिर परिवार कसरी पाल्ने भन्ने चिन्ता छ । खेतमा लगाएको अन्न खडेरीका कारण केही पनि भएन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

सोही ठाउँका प्रताप साउँद पनि कोरोना कहरकै कारण भारतबाट रोजगारी गुमाएर घर फर्केका छन् । स्वदेशमा रोजगारीका सम्भावना नहुँदा उनलाई पनि घरपरिवार चलाउन निकै समस्या भएको छ । ‘एकातिर रोगको महामारी अर्कोतिर महंगाईको मारमा हामी परेका छौं । खाद्यान्न सामग्रीहरुको मूल्य आकाशिएको छ ।’उनले भने ‘व्यापारीहरुले धनगढीमै मूल्य बढेको भन्छन् । अहिले खाद्यान्न सामग्रीको मूल्य आकाशिएको छ ।’

जिल्लाको पाटन नगरपालिका ५ का दीपक ठगुन्ना पनि कोरोना कहरकै कारण रोजगारी गुमाएर घर फर्केका छन् । तर रोजगारी नहुँदा उनलाई पनि परिवार चलाउन समस्या छ । त्यसैमा खाद्यान्न सामग्रीको मूल्य आकाशिएपछि उनी हैरान बनेका छन् । उनले भने ‘पहिलाको तुलनामा एक्कासी खाद्य सामग्रीको मूल्य बढेको छ । रोजगारी छैने कसरी परिवार पाल्ने ?’

कोरोनाको संक्रमण न्यूनीकरणका लागि निषेधज्ञा जारी गरेको भएपनि खाद्यान्न सामग्री ढुवानी गर्ने यातायातका साधनहरुलाई निर्वाध रुपमा आवतजावत गर्न दिइएको छ । तर पनि व्यापारीहरुले आफ्नै तरीकाले मूल्य बढाएको उपभोक्ताहरुको गुनासो छ । 

खाद्य सामग्रीमा मूल्य बढाएको पाइएमा कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । उनले भने ‘खाद्य सामग्रीको मूल्य बढाएको कुरा प्रमाण सहित फेला परेमा हामी कारवाही गर्छौं । यस्तो महामारीको बेलामा कालोबजारी गर्ने तथा मूल्य बढाउनेहरुलाई संक्रामक रोग ऐन २०२० र कालोबजारी ऐन अनुसार कारवाही हुन्छ ।’

कालोबजारी तथा अनावश्यक मूल्य वृद्धि रोक्नका लागि बजार अनुगमन गरिने पनि प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । उनले भने ‘हामीले केही ठाउँमा अनुगमन पनि गरेका छौं । जिल्लाका सबै जसो बजारहरुमा हामी हाम्रा संयन्त्र मार्फत अनुगमन गर्छौं ।’
(यो स्टोरी सहकर्मी सुरेश महराको सहयोगमा लेखिएको हो )

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update