Sagun Khabar
संक्रमित आइसोलेसनमा बस्नै मान्दैनन् 
फोटो :अनुगमनका लागि बैतडीको डिलाशैनी पुगेका प्रमुख जिल्ला अधिकारी सहितको टोली 

बैतडी –जिल्लाको सुर्नया गाउँपालिकाले वासुलिंग स्वास्थ्यचौकीमा ३२ बेडको आइसोलेसन बनाएको छ । कोरोना संक्रमितहरुलाई खानपान सहितको व्यवस्थापन गरेर आइसोलेसन बनाएको भएपनि संक्रतिमहरु बस्न मानेका छैनन् । सोमबार सम्म गाउँपालिकामा २२ जना सक्रिय संक्रमित छन् तर आइसोलेसनमा एकजना मात्रै बसीरहेका छन् । ‘संक्रमितहरु आइसोलेसनमा बस्न मानिरहेका छैनन् । जति सम्झाउँदा पनि उनीहरु बुझ्दैनन् ।’गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले भने, ‘संक्रमितहरुले आइसोलेसन नबसिदिँदा संक्रमण जोखिम बढ्दै गएको छ ।’

जिल्लाको दोगडाकेदार गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा १२ बेडको आइसोलेसन बनाएको छ । गाउँपालिकामा १५ जना सक्रिय संक्रमित भएपनि कोही पनि आइसोलेसनमा बसेका छैनन् । ‘संक्रमितहरु सबै होम आइसोलेसनमा बसेका छन् । आफूहरुलाई होम आइसोलेसनमै सजिलो हुन्छ भन्छन् ।’स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले भने 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाको दशरथचन्द नगरपालिकामा २८५ जना सक्रिय संक्रमित छन् तर आइसोलेसनमा ४५ जना मात्रै बसेका छन् । ‘संक्रमितहरु आँफैले आइसोलेसनमा बस्नुको महत्वका बारेमा बुझ्नु आवश्यक छ । आइसोलेसनमा बसेन भने संक्रमण फैलिन सक्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’सामाजिक अभियान्ता महेश भट्टले भने, ‘संक्रमितहरुले आइसोलेसनमा बसेमात्रै संक्रमण न्यूनीकरणमा मद्दत पुग्छ ।’

जिल्लामा अहिले सम्म २५६ बेडका आइसोलेसन निर्माण भएका छन् । झण्डै ६ सयको हाराहारीमा सक्रिय संक्रमित छन् । तर आइसोलेसनमा १५६ जना मात्रै बसीरहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘स्थानीय सरकारहरुले यो बिषयमा गम्भीर हुन जरुरी छ । यदि हामीले संक्रमितहरुलाई आइसोलेसनमा बसाउन सकेनौं भने हामीले थेग्न नसक्ने अवस्था आउन सक्छ ।’

संक्रमितहरुको आइसोलेसन बसे नबसेको बिषयमा जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुद जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले पनि अनुगमन गरेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा अनुगमन गर्दा थोरै संख्यामा संक्रमितहरु आइसोलेसनमा बसेका पाइएका उनले बताए ।

उनले भने ‘अझै पनि कोभीडका बिषयमा नागरिक गम्भीर बन्न सकेका छैनन् । हामीले स्थानीय तहका प्रतिनिधिहरुसंग पनि यो बिषयमा गम्भीर भएर कुरा गरेका छौं । संक्रमितहरु आइसोलेसनमा बसेनन् भने हामी कोरोना नियन्त्रण गर्न सक्तैनौं ।’

कोरोना संक्रमितहरुलाई आइसोलेसनमा बस्ने व्यवस्था मिलाउन स्थानीय तहहरुसंग समेत समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उनले भने ‘कतिपय ठाउँमा हामी आँफै पुगेका छौं । कतिपय ठाउँमा फोनबाट सम्पर्क भईरहेको छ । आइसोलेसन व्यवस्थापन गर्न सकेनौं भने कोरोनाको जोखिम बढ्दै जानेछ । त्यसैले हामी सबैले सुरक्षित भएर बस्नु आवश्यक छ ।’ 

 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update