Sagun Khabar
बैतडीमा निषेधाज्ञाको अवधि थप्ने तयारी 

बैतडी –बैतडीमा निषेधाज्ञाको अवधि थप गर्ने तयारी भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको भर्चुलक बैठकबाट निषेधाज्ञाको अवधि थप गर्नका लागि सुझाव आएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । 

दशओटै स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतको सहभागितामा भएको भर्चुअल बैठकमा निषेधाज्ञा थप गरी कोरोनाको चेन ब्रेक गर्नुपर्नेमा जोड दिइएको छ । ‘कोरोना भाईरसको चेन ब्रेक गर्नका लागि निषेधाज्ञाको अवधि थप्ने कुरामा दशै पालिकाका प्रतिनिधिज्यूहरु सहमत भएका छन् ।’प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘कोरोनाको संक्रमण रोकथामका लागि हामीले कन्ट्याक्ट टे«सिङको कामलाई बढाउने भनेका छौं ।’

स्वास्थ्य सन्देश
Atrya hospital

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भईरहेका गतिविधिका बिषयमा छलफल गर्न बैठकको आयोजना गरिएको हो । यस्तै बैठकमा संस्थागत आइसोलेसनलाई व्यवस्थित बनाउने, परीक्षणको दायरा बढाउने, कालोबजारी नियन्त्रण गर्ने लगायतका बिषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । 

कोरोना भाईरसको संक्रमण न्यूनीकरणका लागि संक्रमितहरुलाई आइसोलेसनमा बसाउन आवश्यक रहेकोमा जोड दिइएको छ । भर्चुअल बैठकमा बोल्दै दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले नगरपालिकाले वडा वडामा आइसोलेसन निर्माण गरिरहेको जानकारी दिए । उनले भने ‘कोरोना भाईरसको दोश्रो लहरबाट सबैभन्दा बढी प्रभावमा दशरथचन्द नगरपालिकाको क्षेत्र परेको छ । कोरोना नियन्त्रणका लागि हामीले सबै प्रयास अबलम्बन गर्न भनेका छौं ।’

सो बैठकमा स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले तथ्यांक प्रस्तुत गर्दै कोभीड संक्रमणदर बढ्दै गईरहेकाले यसको रोकथामका स्थानीय सरकार लाग्नुपर्ने बताए । उनले भने ‘पहिलो चरणको भन्दा कोरोनाको दोश्रो लहर तीव्र गतिमा फैलिरहेको छ । दोश्रो लहर फैलिएपछि जिल्लामा ७ जनाको कोरोनाका कारण ज्यान गईसकेको छ ।’

संक्रमितहरुलाई होम आइसोलेसन भन्दा संस्थागत आइसोलेसनमा बसाल्नुपर्नेमा स्वास्थ्य प्रमुख भट्टले जोड दिए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update