Sagun Khabar
बैतडीमा उपमेयर कप क्रिकेट : सेमीफाइनल समीकरण पूरा 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका जारी उपमेयर कप महिला क्रिकेट प्रतियोगिता अन्तर्गत सेमीफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलमा जित हात पार्दै दनपा २ र दनपा ८ सेमीफाइनलमा प्रवेश गरेका छन् । यसअघि दनपा ६ र दनपा ९ सेमीफाइनलमा पुगेका थिए । 

आजको पहिलो खेलमा दनपा ८ ले दनपा ४ लाई ५ विकेटले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दनपा ४ ले २० ओभर खेली ५ विकेटको नोक्सानीमा ११८ रन बनायो । उसका लागि गरिमा भट्टले ५१ रन जोड्नि । बलिङ तर्फ दनपा ८ की जानबी मौनीले ४ विकेट लिइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

११९ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको दनपा ८ ले ११.१ ओभरमा ५ विकेटको नोक्सानीमा जित हात पार्यो । उसका लागि जानबी मौनीले ३४ रन बनाइन् । बलिङ तर्फ दनपा ४ की बबिता बोहराले ३ विकेट लिइन् । उक्त खेलमा दनपा ८ की जानबी मौनी ओमन अफ द म्याच घोषित भइन् । 

यस्तै आजै भएको दोश्रो खेलमा दनपा २ ले दनपा ११ लाई ६४ रनले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दनपा २ ले १५० रन बनायो । उसका लागि मनिषा बोहराले ७० रनको योगदान गरिन् । बलिङ तर्फ दनपा ११ की कमला पूजाराले दुई विकेट लिइन् । 

१५१ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ११ ले २० ओभर खेली ९ विकेटको नोक्सानीमा ८६ रन मात्रै बनाउन सक्यो । उसका लागि पशुपति भण्डारीले २४ रन जोडे पनि हार टार्न सकिनन् । बलिङ तर्फ दनपा २ की निर्मला बोहराले ३ विकेट लिइन् । सो खेलमा दनपा २ की मनिषा बोहरा ओमन अफ द म्याच घोषित भइन् । 

प्रतियोगिता अन्तर्गत भोली सेमीफाइनलका खेल हुनेछन् । पहिलो सेमीफाइनलमा दनपा २ र दनपा ९ भिड्नेछन् भने दोश्रो सेमीफाइनलमा दनपा ६ र दनपा ८ भिड्ने प्रशिक्षक दिपेन्द्र बोहराले बताए । 

चैत ११ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद ४५ हजार सहित ट्रफी,प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने प्रशिक्षक दिपेन्द्र बोहराले बताए ।  
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update