Sagun Khabar
बैतडीमा उपमेयर कप क्रिकेट : दनपा २ र दनपा ६ फाइनलमा प्रवेश 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी उपमेयर कप महिला क्रिकेट प्रतियोगितामा दनपा २ र दनपा ६ फाइनलमा प्रवेश गरेका छन् । दनपा ९ लाई हराउँदै दनपा २ फाइनलमा प्रवेश गरेको हो भने दनपा ८ लाई हराउँदै दनपा ६ फाइनलमा प्रवेश गरेको हो । 

दनपा २ र दनपा ९ बीच आज भएको पहिलो खेलमा दनपा २ ले दनपा ९ लाई ९ विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दनपा ९ ले ९ ओभरमा अलआउट हुँदै ४४ रन मात्रै बनाउन सक्यो । बलिङ तर्फ दनपा २ की वसन्ती बोहराले ५ विकेट र बविता बोहराले २ विकेट लिइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

४५ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा २ ले ९ विकेटको जित हात पार्यो । उसका लागि मनिषा बोहराले नटआउट १० रनको योगदान गरिन् । बलिङ तर्फ दनपा ९ की मञ्जु जोशीले एक विकेट लिइन् । सो खेलमा दनपा २ की वसन्ती बोहरा ओमन अफ द म्याच घोषित भईन् । 

यस्तै आजै भएको दोश्रो खेलमा दनपा ८ लाई २८ रनले पराजित गर्दै दनपा ६ फाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको दनपा ६ ले १०८ रन बनायो । उसका लागि ललिता चन्दले ३१ रनको योगदान गरिन् । बलिङ तर्फ दनपा ८ की जानबी मौनीले ३ विकेट लिइन् । 

१०९ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ८ ले १६.५ ओभर खेली ८० रनमा अलआउट भयो । उसका लागि तनुजा थापाले १५ रनको योगदान गरिन् । बलिङ तर्फ दनपा ६ की दमयन्ती ओडले ३ विकेट लिइन् । सो खेलमा दनपा ६ की दमयन्ती ओड ओमन अफ द म्याच घोषित भइन् । 

फाइनल खेल भोलि बिहान ९ बजेदेखि निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा हुने प्रशिक्षक दिपेन्द्र बोहराले बताए । प्रतियोगिताको विजेता टोलीले नगद ४५ हजार सहित ट्रफी,प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने प्रशिक्षक बोहराले बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  ०३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update