Sagun Khabar
संक्रमित होम आइसोलेसनमा, कोरोना नियन्त्रणमा चुनौती 
फोटो : संक्रमितहरुको अवस्था बुझ्न स्थलगत अनुगमनमा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे लगायतको टोली 

बैतडी –बैतडी भारतसंग सीमा जोडिएको जिल्ला भएकाले कोरोनाको उच्च जोखिममा छ । आइतबार सम्म ९१५ जना सक्रिय संक्रमित छन् । ती मध्ये ७ सय बढी संक्रमित होम आइसोलेसनमै बसीरहेका छन् । होम आइसोेलेसनमा बसीरहेका संक्रमितबाटै संक्रमण फैलिने जोखिम बढ्दै गएको बताइएको छ ।

‘हाम्रा घर आइसोलेसनका लागि उपयुक्त छैनन् । एकै धारा, शौचालय प्रयोग गर्नुपर्ने हुन्छ । यसले हामीले नचाहेर पनि संक्रमण फैलिने सम्भावना रहन्छ ।’जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले भने, ‘कोरोना नियन्त्रणका लागि समुदायका नागरिक पनि सचेत हुनु जरुरी छ । कोरोना पोजेटिभ देखिएकाहरुले पनि आफ्ना परिवारका सदस्यलाई संक्रमण हुन नदिन सोच्नुपर्ने हुन्छ ।’

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जेठ १७ गते सम्म निषेधाज्ञा जारी गरेको छ । कोरोनाको चेन ब्रेक गर्न निषेधाज्ञा गरिएकाले संक्रमितहरुले पनि आइसोलेसनमा बस्नु आवश्यक रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘कोरोनाको औषधि छैन् । यसबाट बच्ने उपाय भनेको स्वास्थ्यका मापदण्ड अपनाउनु हो । त्यस्तै संक्रमितहरुले अरुको संसर्गमा जानु भएन् । यो तर्फ सबैले सचेत हुनुपर्दछ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीमा झण्डै ४ सय बेड आइसोलेसन कक्ष तयार भएपनि आइसोलेसनमा बस्नेको संख्या भने थोरै रहेको छ । जिल्लामा एक हजारको हाराहारीमा संक्रमित भएपनि धेरै जसो होम आइसोलेसनमा बसीरहेका स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए । जिल्लामा अहिले सम्म ३८८ बेड आइसोलेसन कक्ष तयार भएपनि १९५ जना मात्रै आइसोलेसनमा बसीरहेका छन् । 

संस्थागत आइसोलेसनमै बसेकाहरु समेत आइलोसेसनबाट भाग्ने गरेका घटना समेत हुन थालेका छन् । संक्रमितहरुले पनि कोरोना नियन्त्रणका लागि आइसोलेसनमा बसेर स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । उनले भने ‘आइसोलेसनमा बसाउनु अरुका लागि हो भन्ने सोचाई छ । सबैभन्दा पहिला यो सोच त्याग्नु आवश्यक छ । हामीले कोरोनाको चेन ब्रेक गर्न आइसोलेसनमा बस्नु अनिवार्य छ ।’

दशरथचन्द नगरपालिकामा १११ बेड आइसोलेसन बनाइएका छन् तर ७३ जना मात्रै आइसोलेसनमा बसीरहेका छन् । पाटन नगरपालिकामा ६० बेड आइसोलेसन तयार भएपनि २९ जना मात्रै आइसोलेसनमा बसीरहेका छन् । मेलौली नगरपालिकामा ५ बेड आइसोलेसन तयार भएकोमा १ जना मात्रै बसीरहेका छन् । 

यस्तै दोगडाकेदार गाउँपालिकामा २४ बेड आइसोलेसन तयार भएकोमा २ जना मात्रै आइसोलेसनमा बसीरहेका छन् । यसैगरी सुर्नया गाउँपालिकामा ३२ बेड आइसोलेसन तयार भएकोमा ५ जना मात्रै आइसोलेसनमा बसीरहेका छन् । डिलाशैनी गाउँपालिकामा १० बेडको आइसोलेसन तयार भएपनि एकजना पनि आइसोलेसनमा बसेका छैनन् । 

पञ्चेश्वर गाउँपालिकामा ६४ बेड आइसोलेसन भएपनि ५ जना मात्रै बसीरहेका छन् भने शिवनाथ गाउँपालिकामा ३० बेडको आइसोलेसन रहेकोमा २८ जना मात्रै बसीरहेका छन् । जिल्लाको सिगास गाउँपालिकामा ४७ बेडको आइसोलेसन तयार भएकोमा ४७ जना संक्रमित आइसोलेसनमा बसीरहेका छन् । 

यस्तै पुर्चौंडीमा पनि ५ बेडको आइसोलेसनमा ५ जना बसीरहेका छन् । संक्रमितहरु संस्थागत आइसोलेसनमा नबस्दा कोरोना नियन्त्रणमा चुनौती रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।


 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update