Sagun Khabar
बैतडीमा प्रमुख पदमा महिला उम्मेदवार ‘शून्य’

बैतडी –आसन्न स्थानीय तहको निर्वाचनका लागि बैतडीका स्थानीय तहका प्रमुख पदमा महिलाको उम्मेदवारी शून्य रहेको छ । ६ गाउँपालिका र ४ नगरपालिका रहेको बैतडीमा सबै स्थानीय तहको प्रमुख पदका लागि पुरुषको मात्रै उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । 

गएको स्थानीय तहको निर्वाचनमा पालिकाको उपप्रमुखमा निर्वाचित भएका महिलाहरुले प्रमुखमा दाबेदारी गरेको भएपनि उनीहरुले टिकट पाउन सकेनन् । महिलाको समानुपातिक प्रतिनिधित्वको कुरा संविधानमा उल्लेख गरिएको भएपनि व्यवहारतः कार्यान्वयनमा समस्या देखिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् । उनी दशरथचन्द नगरपालिकाको प्रमुख पदमा आकांक्षी रहेकी भएपनि टिकट पाउन सकिनन् । उनले भनिन् ‘अझै पनि महिला सहभागिताका बिषयमा दलहरु मैत्री बन्न सकेका छैनन् । महिलाहरुले काम गर्न सक्तैनन् भन्ने गलत सोच कायमै रहेको छ ।’

जिल्लाको पुर्चौंडी नगरपालिकाकी उपप्रमुख जानकी ऐर बम पनि नगरपालिकाको प्रमुख पदकी आकांक्षी थिइन् । तर अन्तिम समयमा उनलाई पार्टीले टिकट दिन सकेन् । 

आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा मात्रै नभएर उपप्रमुख पदमा समेत महिला उम्मेदवार कम देखिएका छन् । चुनावी तालमेल भएका पालिकाहरुमा दलहरुले उपप्रमुख पदमा समेत पुरुष उम्मेदवार बनाएका छन् । 

स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवार बनाउन महिला नेतृत्व मञ्चले सबै दललाई ज्ञापन पत्र बुझाएको भएपनि कुनै दलले पनि प्रमुख पदमा महिला उम्मेदवार नबनाएको महिला नेतृत्व मञ्चका अध्यक्ष अनिता शाह ज्ञवालीले बताइन् । 

प्रमुख पदमा महिला उम्मेदवार बनाउन नसक्नु दलहरुको कमजोरी रहेको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update