Sagun Khabar
वर्षभरि सुनसान देखिने गाउँबस्तीमा दसैँको आगमनसँगै चहलपहल

बैतडी - वर्षभरि सुनसान देखिने सुदूरपश्चिमका पहाडी गाउँबस्तीमा दसैँको आगमनसँगै चहलपहल बढेको छ। रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा गाउँ छाडेर सहर तथा विदेश पुगेका मानिसहरू दसैँ मनाउन घर फर्किन थालेपछि गाउँबस्तीमा रौनक छाएको हो।

वर्षका अधिकांश समय सुनसान रहने गाउँका घरआँगनमा अहिले आफन्तजनको जमघट देखिन थालेको छ। दसैँ मनाउन घर फर्किनेहरूको सङ्ख्या बढेसँगै टोलबस्तीमा चहलपहल बढेको छ भने घरपरिवारमा खुसीयाली छाएको छ। लामो समयपछि आफन्तसँग भेटघाट गर्न पाउँदा परिवारका सदस्यहरू समेत उत्साहित देखिएका स्थानीय यज्ञ राज अवस्थीले बताए ।

दसैँ नजिकिएसँगै गाउँका बजारमा समेत चहलपहल बढेको छ। लत्ताकपडा, खाद्यान्न, मिठाई तथा दैनिक उपभोग्य वस्तु किनमेल गर्नेहरूको भीड देखिन थालेको छ। गाउँघरमा घर लिपपोत गर्ने, सरसफाइ गर्ने, बाटोघाटो सफा गर्ने तथा दसैँका लागि आवश्यक सामग्रीको जोहो गर्ने कामले पनि तीव्रता पाएको छ। वर्षौँदेखि परदेशमा पसिना बगाइरहेकाहरूका साथै अध्ययनको लागि देशकै ठूला सहरमा बसिरहेका नागरिक परिवारसँग खुसी साट्न र मान्यजनको हातबाट टीका तथा आशीर्वाद थाप्न गाउँ फर्किएका स्थानीय शिक्षक केशब दत्त भट्टले बताए ।

यद्यपि, दसैँ सकिएपछि रोजगारी र अध्ययनका लागि गाउँ छाड्ने क्रम फेरि सुरु हुने भएकाले गाउँबस्ती पुनः सुनसान बन्ने अवस्था आउने गर्दछ । रोजगारीका पर्याप्त अवसर, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा आधारभूत सुविधाको अभावका कारण पहाडी क्षेत्रका धेरै मानिस गाउँबाहिर बस्न बाध्य छन्। दसैँ मनाउन घर फर्किनेको संख्या बढेसँगै डडेल्धुरा, डोटी, बैतडी, दार्चुला, बझाङ, बाजुरा र अछामका गाउँबस्तीमा चहलपहल बढदै गएको जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक पृथ्वी राज अवस्थीले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा रोजगारीका अवसर सीमित हुँदा धेरै मानिस परिवारको जीविकोपार्जनका लागि भारत तथा तेस्रो मुलुक जानुपर्ने बाध्यतामा छन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update