बैतडी – बैतडीको दशरथचन्द नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेसका तर्फबाट धनबहादुर क्षेत्री वडा अध्यक्ष पदका लागि चुनावी मैदानमा रहेका छन् । नेपाली कांग्रेसका क्षेत्रीय सचिव समेत रहेका क्षेत्रीले टिकट पाएपछि अहिले उनी प्रचारप्रसारमा व्यस्त रहेका छन् ।
विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील क्षेत्री राजनीतिमा आएपछि अहिले आफ्नो पक्षमा माओल बन्दै गएको दाबी गर्छन् । गएको स्थानीय तहको निर्वाचनमा सोही वडामा उनका बुवा दामबहादुर क्षेत्री वडा अध्यक्षमा निर्वाचित भएका थिए । क्षेत्रीले आफ्नो कार्यकालमा दुर्गाभवानी क्षेत्रलाई सडक सञ्जालमा जोडेका थिए ।
बुवाकै राजनीतिक बिरासत र उनले शुरु गरेका योजनाहरुलाई पूर्णता दिनका लागि आफू राजनीतिमा होमिएको धनबहादुर क्षेत्री (जगदीश)ले बताए । उनले भने ‘गएको ५ बर्षमा मैले बुवासंगै रहेर राजनीतिलाई कसरी समाजसेवामा लग्न सकिन्छ भनेर सिँके । सोही अनुसार अहिले मैले उम्मेदवारी दिएको छु । स्थानीयहरुका समस्यालाई समाधान गर्न मेरो उम्मेदवारी हो ।’
वडा अध्यक्ष समेत रहेका बुवाबाटै आफूले राजनीतिमा युवाहरुको सहभागिता हुनुपर्छ भन्ने कुरा सिकेको क्षेत्रीले बताए । उनले भने ‘बुवाले राजनीतिमा लागेर ५ बर्षमा दुर्गाभवानीका लागि केही काम गर्नुभएको छ । ती कामहरुलाई निरन्तरता दिनका लागि मेरो उम्मेदवारी हो ।’
बालिचन धार्मिक तथा सामाजिक क्षेत्र सेवा कोषमा समेत आवद्ध क्षेत्रीले विभिन्न सामाजिक अभियान पनि सञ्चालन गर्दै आएका छन् । उनले यसअघि विभिन्न सामाजिक अभियान मार्फत स्थानीयहरुलाई सहयोग गर्दै आएका छन् ।
छोराले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेपछि वडा अध्यक्ष दामबहादुर क्षेत्री पनि खुसी भएका छन् । उनले भने ‘छोराले जितेमा मैले शुरुवात गरेका कामहरु अघि बढाउनेछ भन्ने आसा छ । राजनीति मार्फत समाजसेवा गर्नेछ भन्ने मैले आसा लिएको छु ।’





