Sagun Khabar
बैतडीमा अध्यक्षका उम्मेदवार रानाले प्राध्यापकमाथि गरे कुटपीट, राना प्रहरी नियन्त्रणमा  

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकामा गठबन्धनबाट पालिका अध्यक्ष पदका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र राना(शितल)ले एक जना सह प्राध्यापकमाथि कुटपीट गरेको आरोप लागेको छ । 

डिलाशैनी गाउँपालिका ५ बिनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सह प्राध्यापक रामदत्त जोशीमाथि अध्यक्षका उम्मेदवार लोकेन्द्र राना र उनका कार्यकर्ताले कुटपीट गरेको आरोप लागेको हो । 

स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै राना र उनका कार्यकर्ताले आज कुटपीट गरेको जोशीका भाइ दीपकराज जोशीले बताए । कुटपीटबाट रामदत्त जोशीको घुँडामा चोट लागेको बताइएको छ । उनको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ । 

कुटपीटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच गोकुलेश्वर प्रहरीचौकीमा छलफल भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनले भने ‘घटनाका बिषयमा छलफल भईरहेको छ । घटना कसरी भयो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

दुवै पक्ष गोकुलेश्वर प्रहरीचौकीमा आएका र दुवै पक्षबीच छलफल भईरहेको गोकुलेश्वर प्रहरीचौकीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update