Sagun Khabar
आजदेखि मौन अवधि शुरु हुँदै, भोट माग्ने अन्तिम कसरतमा बैतडीका उम्मेदवार 

बैतडी –आज मध्यरातीदेखि मौन अवधि शुरु हुने भएपछि बैतडीका उम्मेदवारहरु भोट माग्न अन्तिम कसरतमा जुटेका छन् । आफ्ना पक्षमा मत माग्नका लागि विभिन्न दलबाट उम्मेदवार बनेका र स्वतन्त्र उम्मेदवारहरु भोट माग्ने अन्तिम कसरतमा जुटेका हुन् । 

उम्मेदवारहरुले आज मात्रै भोट माग्न पाइने भएकाले गाउँगाउँ र घरघरमा उम्मेदवार पुगेका स्थानीयहरुले बताएका छन् । आफ्ना चुनावी एजेण्डा सहित घरदैलो अभियान जारी रहेको नेपाली कांग्रेसका तर्फबाट दशरथचन्द नगरपालिकामा मेयर पदका उम्मेदवार गजेन्द्रसिंह रावलले बताए । उनले भने ‘सबै वडामा घरदैलो अभियान सम्पन्न गरेका छौं । आज पनि घरदैलो अभियानमै छौं ।’

आजदेखि मौन अवधि शुरु हुने भएकाले आफूहरु मतदातासंग भोट मागिरहेको एमालेबाट दशरथचन्द नगरपालिकामा मेयरका उम्मेदवार पुष्करराज जोशी (लख्खाभाइ)ले बताए । उनले भने ‘हामीले प्रतिबद्धता पत्र सहित उम्मेदवारसंग भोट मागिरेहका छौं । आगामी ५ बर्षमा के गर्ने भन्ने योजना सहित हामी मतदाताहरुलाई रिझाईरहेका छौं ।’

संघीयता र गणतन्त्र माओवादीको एजेण्डा भएकाले नेतृत्व पनि माओवादीकै हुनुपर्ने भन्दै आफूहरुले मतदाताहरुसंग भोट मागिरहेको माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार प्रेमसिंह थापाले बताए । उनले भने ‘हामीले हाम्रा एजेण्डा अनुसार भोट मागिरहेका छौं ।’

जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारहरु आज भोट माग्ने अन्तिम कसरतमा जुटेका छन् ।आफ्ना चुनावी एजेण्डा सहित उनीहरु मतदाता समक्ष पुगेका स्थानीयहरुले बताएका छन् । 

बैतडीमा ४ सय ४० पदका लागि १४ सय बढी उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update