बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ धुलिधारका बासिन्दाहरुले गाउँमा खानेपानीको व्यवस्थापन गर्नेलाई भोट दिने बताएका छन् । गाउँमा खानेपानीको समस्या रहेकाले भोट माग्न आउने नेताहरुलाई पानी देउ भनिरहेको स्थानीय धिरेन्द्र बिष्टले बताए । उनले भने ‘अहिले हामीलाई खानेपानीको निकै समस्या रहेको छ । खानेपानीको समस्या समाधान गर्ने नेतालाई हामीले भोट दिन्छौं ।’
गाउँमा आएको पुरानो खानेपानी योजना जीर्ण भईसकेकाले खानेपानीको निकै समस्या रहेको स्थानीय सरस्वती बिष्टले बताइन् । खानेपानीकै लागि एकघण्टा टाढाको मूहानबाट पानी ल्याउनु परिरहेको उनले बताइन् । उनले भनिन् ‘खानेपानीका लागि घरको एकजनाले व्यस्त रहनुपर्ने अवस्था छ । खानेपानीको जोहो गर्न निकै मुस्किल छ ।’
खानेपानीकै कारण आफूहरुले निकै समस्या झेल्नुपरेको अर्का स्थानीय केशव बिष्टले बताए । उनले भने ‘खानेपानीको समस्या समाधान जसले गर्छ उसलाई भोट दिने भनेका छौं । खानेपानीको समस्या समाधान हाम्रो पहिलो शर्त छ ।’
गाउँमा भोट माग्न आउने सबैलाई खानेपानीको व्यवस्थापनका लागि आग्रह गरेको स्थानीय धिरेन्द्र बिष्टले बताए । गाउँमा आउने सबै उम्मेदवारहरुले खानेपानीको व्यवस्थापन गर्ने आश्वासन दिएको उनले बताए ।





