बैतडी – पालिका चुनाव अन्तर्गत मंगलबार रातीदेखि मौन अवधि शुरु भएको छ । मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघनका कुनै पनि कार्य नगर्न जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।
एक सूचना प्रकाशन गर्दै प्रशासनले आचारसंहिताको पूर्ण रुपमा पालना गर्न राजनीतिक दल, दलका भातृ संगठन र सम्बद्ध सबैलाई आग्रह गरेको हो ।
मौन अवधिको समयमा कुनै प्रकारका छलफल, अन्तरक्रिया, कोणसभा लगायतका कार्यक्रम गर्न नपाइने प्रशासनले जनाएको छ । यस्तै कुनै पनि विधि र प्रक्रियाबाट भोट माग्न नपाइने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट उम्मेदवारका पक्ष र विपक्षमा सन्देशहरु राख्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
मौन अवधिमा कुनै पनि राजनीतिक दलका पदाधिकारी र उम्मेदवारहरुले सवारी साधनको प्रयोग गर्दा पार्टीको झण्डा र चिन्ह राख्न नपाइने उल्लेख गरिएको छ ।
मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गरेको पाइएमा सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएर प्रचलित कानुन अनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।






