बैतडी –शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १ हजार बढी कर्मचारी खटिएका छन् । जिल्लाका २ सय ५ ओटै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुयालले बताए ।
सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर १ हजार १८ जना कर्मचारी खटिएका उनले बताए ।
यस्तै प्रत्येक मतदान केन्द्रमा ३ जनाका दरले स्वयंसेवक खटिएका जिल्ला निर्वाचन अधिकारी फुयालले बताए । यसरी जिल्लाभरी ६ सय १५ जना स्वयंसेवक खटिएका छन् ।
निर्वाचनका लागि खटिएका कर्मचारीहरुले आज र भोलि मतदान प्रक्रियालाई सहज बनाउन मतदान केन्द्रमा काम गर्नेछन् । उनीहरुले मतदाता परिचय पत्र वितरणका साथै मतदाताहरुलाई मतदान गर्ने तरीकाका बारेमा समेत सिकाउने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए ।
जिल्लामा निर्वाचन शान्तिपूर्ण , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि २ हजार बढी सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।





