Sagun Khabar
स्थानीय निर्वाचनका लागि सुदूरपश्चिमका नाका तीन दिन बन्द 

बैतडी –सुदूरपश्चिमका सीमा नाका तीन दिनका लागि बन्द भएका छन् । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यराती देखि सीमा नाका बन्द भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । बैतडी झुलाघाट नाकामा मंगलबार रातिदेखि आवतजावत पूर्ण रुपमा बन्द भएको उनले बताए । ‘भारतीय अधिकारीहरूसँग समन्वय गरेर नाका बन्द गरिएको हो,’ उनले भने, ‘चुनावसम्म नाका पूर्ण रुपमा बन्द हुन्छ।’

कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ । कञ्चनपुरको गड्डाचौकी नाका पनि मंगलबारदेखि बन्द भएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए । 

यस्तै गौरीफन्टा नाका पनि बन्द गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । अत्यावश्यक काम विवाह, दाहसंस्कार, बिरामी रेफर र पेट्रोलियम पदार्थको ओसारपसार भने नरोकिने उनले बताए । कैलालीको खक्रौला नाका पनि बन्द गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update