बैतडी –बैतडीको पुर्चौंडीमा माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । पुर्चौंडी नगरपालिका वडा नं ५ कुवाकोटको सल्लेली गाउँमा बुधबार राति साढे १२ बजे दुवै पक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।
नेकपा माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार समेत रहेका नरबहादुर बोहरा र नेपाली कांग्रेसका कार्यकर्ता गोपाल बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
दुवै जनाको टाउकोमा चोट लागेको र उनीहरुलाई उपचारका लागि धनगढी लगिएको उनले बताए । घटना लगत्तै प्रहरी निरीक्षक रणबहादुर चन्दको नेतृत्वमा सो ठाउँमा प्रहरीको टोली खटिएको र अहिले अवस्था समान्य रहेको प्रहरी निरीक्षक जोशीले बताए ।
उक्त घटनामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले एक अर्कोलाई आरोप लगाएका छन् । कांग्रेसका कार्यकर्ताहरुले वडा सदस्यका उम्मेदवारमाथि आक्रमण गरेको माओवादी केन्द्रबाट मेयरका उम्मेदवार विक्रम कुँवर (प्रतीक)ले बताए ।
यता नेपाली कांग्रेसका पुर्चौंडी नगरसभापति गणेशबहादुर गडालले माओवादीका कार्यकर्ताहरुले कांग्रेसका कार्यकर्ताहरुमाति आक्रमण गरेको बताए ।
बैतडीका ५ ओटा स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ भने पुर्चौंडीमा मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै दुवै दल अलग –अलग चुनावी मैदानमा छन् । दुवै दलले मित्रवत प्रतिस्पर्धा गर्ने भनेपनि झडप हुन थालेको छ ।






