Sagun Khabar
बैतडीमा १४ प्रतिशत संक्रमित मात्रै संस्थागत आइसोलेसनमा 
फाइल फोटो

बैतडी –बैतडीमा कोरोनाका सक्रिय संक्रमित मध्ये १४ प्रतिशत मात्रै संस्थागत आइसोलेसनमा बसेका छन् । धेरैजसो संक्रमित होम आइसोलेसनमै बसेकाले कोरोना संक्रमणको जोखिम बढ्दै गईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

होम आइसोलेसनमा बसेकाहरुलाई स्वास्थ्यका मापदण्ड अपनाउन गाह्रो हुने भएकाले यसले संक्रमणको जोखिम बढ्दै गएको उनले बताए । उनले भने ‘हाम्रा घरहरुमा अलगै शौचालयको व्यवस्था छैन् । अलगै पानीको धारा छैन् । यसले गर्दा स्वास्थ्यका मापदण्ड अपनाउन असहज छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लामा ९१० जना सक्रिय संक्रमित रहेका भएपनि संस्थागत आइसोलेसनमा भने १२८ जना मात्रै बसीरहेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा ४ सय बेडका आइसोलेसन तयार भएका भएपनि थोरै जनामात्रै आइसोलेसनमा बसीरहेका छन् । ‘जिल्लामा आइसोलेसन बनेका छन् । तर संक्रमित बसेका छैनन् । यो बिषयमा हामीले स्थलगत अनुगमन समेत गरेका छौं ।’प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले भने,‘कोरोना संक्रमण न्यूनीकरणका लागि संस्थागत आइसोलेसनमा बस्नु पनि आवश्यक छ ।’

जिल्लाको दशरथचन्द नगरपालिकामा १२१ बेडका आइसोलेसन सेन्टर भएका भएपनि ५७ जना मात्रै संस्थागत आइसोलेसनमा बसीरहेका छन् । जिल्लाको पाटन नगरपालिकामा ६० बेडका आइसोलेसन सेन्टर तर त्यहाँ पनि २७ जनामात्रै संस्थागत आइसोलेसनमा बसीरहेका छन् । 
मेलौली नगरपालिकामा ५ बेडको आइसोलेसनमा एकजना मात्रै बसीरहेका छन् । दोगडाकेदार गाउँपालिकाले २४ बेडको आइसोलेसन तयार पारेको भएपनि आइसोलेसनमा २ जना मात्रै बसीरहेका छन् । 

यस्तै डिलाशैनीमा १० बेडको आइसोलेसन भएपनि संक्रमितहरु भने होम आइसोलेसनमै बसीरहेका छन् । जिल्लाको सिगास गाउँपालिकामा ४७ बेडका आइसोलेसन बनाइएका भएपनि १३ जना मात्रै बसीरहेका छन् । अन्य संक्रमित होम आइसोलेसनमै बसीरहेका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा ६४ बेडका आइसोलेसन भएपनि ४ जना मात्रै संस्थागत आइसोलेसनमा बसीरहेका छन् । सुर्नया गाउँपालिकामा ३२ बेडको आइसोलेसन कक्ष तयार भएपनि ५ जना मात्रै बसीरहेका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए । उनले भने ‘हामीले पनि ३५ बेडको आइसोलेसन कक्ष बनाएका छौं । तर त्यसमा थोरै मात्र मान्छे बसेका छन् ।’

शिवनाथ गाउँपालिकामा ३० बेडका आइसोलेसन बनेका भएपनि ११ जना मात्रै बसीरहेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिकामा ७ बेडको आइसोलेसन रहेकोमा ७ जना बसीरहेका छन् । 

जिल्लामा सक्रिय संक्रमितको संख्या भन्दा कम आइसोलेसन छन् तर भएका आइसोलेसनमा संक्रमितहरु बसेका छैनन् । संक्रतिमहरुलाई संस्थागत आइसोलेसनमा बस्ने वातावरण सिर्जना गर्नका लागि स्थानीय तहहरुसंग निरन्तर समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update