Sagun Khabar
कोरोना रिपोट ढिलो आउँदा समस्या 

बैतडी –जिल्लाको सुर्नया गाउँपालिकाले शंकास्पद बिरामीको स्वाब संकलन गरेर पठाएको एक हप्ता बढी भईसक्यो तर पनि रिपोट अझै आएको छैन् । ‘हामीले शंकास्पद बिरामीको स्वाब संकलन गरेर पठाएका हौं । एकहप्ता बढी भईसक्दा समेत रिपोट आएको छैन् ।’गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले भने, ‘रिपोट नआउँदा सम्म कोही पनि आइसोलेसनमा बस्न मान्दैनन् । स्वाबको रिपोट ढिलो आउँदा गाउँमा संक्रमणको जोखिम बढ्दै गएको छ ।’

जिल्लाको डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले केही दिन कोरोनाको शंका लागेर स्वाब दिए । स्वाब दिएपछि आइसोलेसनमा बसेका उनको रिपोट ८ दिनपछि मात्रै प्राप्त भयो । उनले भने ‘समयमा रिपोट नआउँदा समस्या हुने गरेको छ । स्वाबको रिपोट समयमा नआउँदा संक्रमितहरु घरमै बसीरहेका छन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुलाको दुहुँ गाउँपालिकाले शंकास्पद बिरामीको स्वाब संकलन गरेर पठाएको ११ दिन भईसकेको छ । तर अझै पनि उनीहरुको रिपोट आएको छैन् । ‘शंकास्पद बिरामीहरुको स्वाब संकलन गरेर पठाएको ११ दिन सम्म पनि रिपोट आएको छैन् । अब आउने रिपोटको त्यति खासै भर भएन् ।’दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले भने, ‘शंकास्पद देखिएका बिरामीहरु धेरै जसो ठीक भईसके । अब आउने रिपोटको के अर्थ हुन्छ ?’

जिल्ला अस्पतालको प्रयोगशालाबाट ढिलो रिपोट आउँदा कोरोना नियन्त्रणमा चुनौती थपिएको छ । यता जिल्ला अस्पतालले भने स्वाबको चाप बढी भएकाले समयमा रिपोट आउन ढिलाई हुने गरेको बताएको छ ।

दैनिक चारसय बढी स्वाबको परीक्षण हुने भएपनि स्वाबको चाप बढी हुँदा समयमा रिपोट आउन ढिलाई हुने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । उनले भने ‘केही दिन प्रयोगशालामा परीक्षणका लागि आवश्यक पर्ने केमिकलको अभाव पनि भयो । अहिले केमीकल आईसकेको छ । अब परीक्षणमा ढिलाई हुँदैन् ।’ 

अहिले पनि जिल्ला अस्पतालको प्रयोगशालामा एक हजार स्वाब परीक्षण गर्न बाँकी रहेका डा. जोशीले बताए ।
 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update