Sagun Khabar
पाटनमा उपभोक्ता समिति अध्यक्षमा महिला मात्रै, भदौ मसान्तभित्र समिति गठन गरिसक्न निर्देशन 
Patan nagarplika 1.jpg

बैतडी –बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक बर्षमा उपभोक्ता समिति मार्फत सञ्चालन गर्नुपर्ने योजनाको अध्यक्षमा महिलामात्रै हुनुपर्ने जनाएको छ । नगरकार्यपालिकाको पहिलो बैठकले नगरभित्र सञ्चालन हुने योजनाको उपभोक्ता समिति अध्यक्षमा महिलामात्रै राख्ने निर्णय गरेकाले सो निर्णय कार्यान्वयन गराउन आग्रह गरेको छ । 

चालु आर्थिक बर्षमा उपभोक्ता समितिबाट काम गराउनुपर्ने योजनाको अध्यक्षमा महिलामात्रै राख्नुपर्ने निर्णय गत जेठ १६ गते बसेको  प्रथम कार्यपालिका बैठकले गरेको थियो । सो बैठकको निर्णय नं १० मा उपभोक्ता समितिमा महिलामात्रै अध्यक्ष हुनुपर्ने उल्लेख गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

नगरपालिकाले वडाहरुलाई पत्र लेख्दै भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिएको छ भने उपभोक्ता समितिमा महिला अध्यक्ष राख्ने निर्णयलाई पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरेको छ ।

सबै वडा कार्यालयहरुलाई भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न र त्यस्तो समिति गठन गर्दा महिलामात्रै अध्यक्ष बनाउन आग्रह गरिएको पाटन नगरपालिकाका कार्यबाहक नगरप्रमुख कमलसिंह बोहराले बताए । उनले भने ‘हामीले कार्यपालिकाको पहिलो बैठकबाट उपभोक्ता समिति अध्यक्षमा महिलामात्रै अध्यक्ष बनाउने निर्णय गरेका हौं । सो निर्णय कार्यान्वयन गर्न वडाहरुलाई भनेका छौं ।’

महिलाहरुलाई विकास निर्माणका काममा सहभागी र उनीहरुको क्षमता अभिवृद्धिका लागि यो नीति ल्याएको कार्यवाहक प्रमुख बोहराले बताए । 

नगरपालिकाको यो निर्णयको सामाजिक सञ्जालमा चर्को बहस भएको छ । कतिपयले महिलामात्रै नभएर महिलालाई प्राथमिकता दिनुपर्ने निर्णय गरेको भए राम्रो हुन्थ्यो भनेका छन् । कतिपयले निर्वाचनको बेला गठबन्धन गरेर महिलालाई प्राथमिकता नदिएको र यो निर्णय कसरी गरेको ? भनेर प्रश्न समेत गरेका छन् । 

Patan nagarpalika1660293621.jpg

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update