Sagun Khabar
बैतडीमा जेठ मसान्त सम्मका लागि थपियो निषेधाज्ञा, प्रमुख जिल्ला अधिकारीद्वारा आदेश जारी 


बैतडी –बैतडीमा निषेधाज्ञाको अवधि थपिएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै जेठ मसान्त सम्मका लागि निषेधाज्ञा थप गरेका हुन् । 

यस अघि जेठ १७ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । कोरोना भाईरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि गरिएको निषेधाज्ञा जेठ मसान्त थप गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । कोरोना भाईरसको संक्रमण अझै पनि तीव्र गतिमा फैलिरहेकोले निषेधाज्ञा थप गरिएको हो । 

जिल्ला कोभीड १९ व्यवस्थापन समितिको बैठकले गरेको सिफारिश अनुसार जेठ ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञाको अवधिमा आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ । खाद्य पसल, तरकारी पसल बिहान ७ देखि ९ बजे सम्म मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

यसैगरी निषेधाज्ञाको समयमा खाद्य पदार्थको मूल्य बढाएमा कारवाही हुने आदेशमा उल्लेख गरिएको छ । यसैगरी बैंक तथा बित्तीय संस्थाहरुले पनि आलोपालो मिलाई हप्तामा तीनदिन मात्रै दिनको २ घण्टा सेवा दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ । 

यसैगरी पूर्व स्वीकृति लिएका सवारी साधन पनि अब जिल्लामा बिहान ६ देखि बेलुका सात बजे सम्म मात्रै सञ्चालन हुनेछन् भने जिल्ला भित्रिने सबैको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारीले खगेन्द्र भारतीले बताए । उनले भने ‘अब जिल्ला भित्रिने खाद्यान्नका गाडीहरु बिहान ६ देखि बेलुका सात बजेसम्म मात्रै सञ्चालन हुनेछन् । गाडीमा रहेका व्यक्तिहरुको खोड्पेमा एन्टीजेन परीक्षण गरिनेछ । नेगेटिभ आएकाहरुलाई गन्तव्यमा पठाइनेछ भने पोजेटीभ आएकाहरुलाई क्वारेन्टाइनमा राखिनेछ ।’

विकास निर्माणको हक भने सम्बन्धित योजनाको प्रमुखको सिफारिशमा जिल्ला प्रशासन कार्यालयको अनुमतिमा मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ । 

निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा सम्मेलन र बैठकहरुमा रोक लगाइएको छ भने विवाह ब्रतबन्ध जस्ता कार्यहरुमा थोरै मानिसको सहभागिता हुनुपर्ने उल्लेख गरिएको छ ।

आदेशको उल्लंघन गरिएमा कोभीड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने उल्लेख गरिएको छ । 


 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update