Sagun Khabar
महामारीको समयमा महंगीको मारमा जनता

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ८ का कमल साउँद भारतबाट रोजगारी गुमाएर घर फर्केको एक महिना भएको छ । उनलाई अहिले घरपरिवार चलाउन निकै सकस छ । भारतको रोजगारीका भरमा परिवारको लालनपालन गर्दै आएका कमलसंग अर्को पनि विकल्प छैन । त्यसैमा यस वर्ष हिउँदे बाली उत्पादनमा पनि ह्रास आयो । यस वर्ष हिउँदभरी खडेरी भएका कारण गहुँ उत्पादनमा निकै गिरावट आयो । एकातिर भारतको रोजगारी गुमाएको अवस्था, अर्कोतिर अन्नबाली उत्पादनमा आएको ह्रास । त्यसैमा अहिले एकाएक दैनिक उपभोग्य वस्तुको भएको अचाक्ली मूल्यबृद्धि । कमललाई अब परिवार कसरी पाल्ने ? भन्ने चिन्ताले सताएको छ । 

कोरोना महामारीको दोस्रो लहर फैलिएसंगै बैतडीमा पनि निषेधाज्ञा जारी छ । कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन गरिएसंगै चामल, दाल, नुनतेल सहित दैनिक उपभोग्य वस्तुको मुल्य ह्वात्तै बढेको छ । कमलले भने– लकडाउन हुनुभन्दा पहिला तीन हजार छ सय रुपैयाँ प्रतिक्विन्टलमा पाइने मोटो चामलको मूल्य अहिले चार हजार सात सय रुपैयाँ पुगेको छ । एक सय ८० रुपैयाँ खानेतेलको मुल्य दुई सय ४० रुपैयाँ पुगिसकेको छ । प्रायः हरेक दैनिक उपभोग्य वस्तुको मुल्य बढेको बढ्यै छ । हामीजस्ता गरिबहरूका लागि भोकभोकै मर्ने दिन आए ।

कमलले आफ्ना पीडा पोखे– ‘कोरोनाका कारण भएको रोजगारी गुम्यो । खडेरीले यस वर्ष हिउँदमा गहुँ उत्पादन निकै कम भयो । अब कसरी परिवारको लालनपालन गर्ने ?’

स्वास्थ्य सन्देश
Atrya hospital

भारतमा रोजगारी गर्ने सोही ठाउँका प्रताप साउँद पनि कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमाएर घर फर्केका छन् । आर्थिक रुपमा विपन्न प्रतापसंग गाउँमा कुनै रोजगारी छैन । खासै जमिन नभएका कारण वर्षभरी खानपुग्ने अन्न उत्पादन हुँदैन । उनले भने– एकातिर कोरोना  महामारी, अर्कोतिर महंगाईको मार । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । व्यापारीहरू धनगढी, महेन्द्रनगरका बजारमा नै मूल्य बढेको दाबी गरिरहेका छन् । कारण जे भए पनि हामी जस्ता गरिबहरू त निकै समस्यामा परेका छौं । 

त्यस्तै भनाई बैतडीको पाटन नगरपालिका वडा नम्बर ५ का दीपक ठगुन्ना पनि छ । उनी पनि भारतमा रोजगारी गर्दथे । कोरोना महामारीको दोस्रो भेरिएन्ट बढेसंगै उनको रोजगारी गुम्यो । उनी घर फर्किए । घर त फर्किए, तर गाउँमा आम्दानीको स्रोत छैन । त्यसैमा चामलदाल लगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएपछि उनी हैरान बनेका छन् । उनी भन्छन्– दुई महिना अघिको तुलनामा अहिले हरेक वस्तुको मुल्य निकै बढेको छ । आफुसंग कुनै रोजगारी छैन । कसरी परिवार पाल्ने होला ? 

कोरोना महामारीको दोस्रो लहर भयानक बन्दै गएपछि बैतडीमा पनि बैशाखको दोस्रो सातादेखि लकडाउन गरिएको छ । कोरोना र लकडाउनको मौका छोपेर अहिले व्यापारीहरूले हरेक वस्तुको मुल्य बृद्धि गरिरहेका छन् । बैतडीको सदरमुकाम समेत रहेको दशरथचन्द नगरपालिका वडा नम्बर १ का अम्बादत्त वडुको अनुसार दुई महिना अघिसम्म ४० रुपैयाँ प्रति किलोको दरमा पाइने मोटो चामलको मुल्य अहिले ४८ रुपैयाँ प्रतिकिलो पुगेको छ । खानेतेलमा प्रतिलिटर ६० रुपैयाँ बृद्धि भएर दुई सय ४० पुगेको छ । त्यस्तै, चिनिको मुल्य प्रतिकिलो २० रुपैयाँ बढेर एक सय रुपैयाँ पुगेको छ । 

स्थानीय व्यापारीहरू भने धनगढी तथा महेन्द्रनगरमा नै सामानको मूल्य बढेको दाबी गर्छन् । ‘हामीले पनि धनगढीबाटै सामान मगाउने हो । उतै सामानको भाउ बढेर आएपछि हामीले के गर्न सक्छौ ? दशरथचन्द नगरपालिका वडा नम्बर १ मुस्याचौरका व्यापारी केशवराज भट्टले भने– हामी खाद्यान्न, तरकारी सहित प्रायः सबै सामान धनगढीको बजारबाटै ल्याउँछौं । निषेधाज्ञा भएपछि हरेक वस्तुको मुल्य बढेको छ । त्यसैले दैनिक उपभोग्य वस्तुको भाउ बढेको छ ।

धनगढीमा नै मुल्य बढेको दाबी गरे पनि कोही पनि व्यापारी खरिद बिल भने देखाउन चाहन्नन् । बैतडी जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले भने ‘हामीले अनुगमनका क्रममा खाद्यान्न सहित दैनिक उपभोग्य वस्तुको मूल्य बढेको पायौं । सबै व्यापारीले धनगढीबाटै भाउ बढेको भनेर दाबी गर्छन्, तर कसैले पनि खरीद बील देखाउन सकेनन् ।’ 

उनले खरीद बील नदेखाउँदासम्म उतै भाउ बढेको भनेर कसरी पत्याउने ? बताए । भने– अनुगमनका क्रममा बढी मूल्य लिएको पाएको ठाउँमा हामीले कारवाही गरेका छौं ।

बैतडी उद्योग बाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले उपभोक्ताहरूले खाद्यान्न सामग्रीको मूल्य बढेको गुनासो गरिरहेकोेले आफूहरूले स्थानीय प्रशासनलाई बजार अनुगमनमा सहयोग गर्ने गरेको बताए । उनले भने– हामीले सबै व्यापारी व्यवसायीहरूलाई अनिवार्य रुपमा पसलमा मूल्यसूची राख्न भनेका छौं ।

कारवाही गर्दै स्थानीय प्रशासन
बैतडीमा कोरोना कहरबीच खाद्यवस्तुको मूल्य बढेपछि स्थानीय प्रशासनले बजार अनुगमन तथा गलत गर्नेहरूमाथि कारबाही शुरु गरेको छ । उपभोक्ताहरूबाट दैनिक उपभोग्य वस्तुको मुल्य निकै बढेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले आकस्मिक अनुगमन गरिरहेको छ ।

पछिल्लो साता प्रशासनले बैतडीको सतबाँझ, मुस्याचौर, गुरुखोला र देहीमाण्डौ बजारमा अनुगमनका क्रममा कालोबजारी गरेको भेटिएका व्यापारीहरूमाथि कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने– महामारीको समयमा खाद्यवस्तुको मूल्य बढाएको भन्ने गुनासो आएपछि हामीले आकस्मिक अनुगमन गरेका छौं । यो अभियानलाई निरन्तरता दिइने छ ।

उनका अनुसार अनुगमनका क्रममा कालोबजारी गरेको प्रमाण फेला परेपछि अहिलेसम्म १० जना बढी व्यापारीलाई जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले उनीहरूलाई स्थलगत अनुगमनकै क्रममा जरीवाना गरिएको जानकारी दिए । 

उनले भने– सतबाँझ र मुस्याचौर बजारका कालोबजारी गर्ने व्यापारीहरूलाई उपभोक्ता संरक्षण ऐन अनुसार सात दिनको म्याद दिएर दुई हजार एक सय रुपैयाँका दरले तत्काल जरीवाना गरिएको छ  ।

त्यस्तै, देहीमाण्डौं बजारको अनुगमनका क्रममा तीन वटा पसलमा अखाद्य वस्तु भेटिनुका साथै मूल्यसूची नराखेको र खरीद बील समेत नभेटिएकोले जरिवाना गरिएको छ । उनीहरू तीनै जनालाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ खण्ड (१) र सोही ऐनको दफा ३९ को उपदफा १ खण्ड (क) अनुसार जनही पाँच हजार रुपैयाँका दरले जरीवाना गरिएको सूचना अधिकारी भारतीले बताए । उनले भने– बजार अनुगमनका क्रममा उपभोग्य वस्तुको मूल्य बढाएको र कालोबजारी गरेको प्रमाणका आधारमा हामीले कानुनी रुपमा जरीवाना गर्दै आएका छौं ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बैतडीका प्रमुख कृष्णदत्त लेखकले कोरोना महामारीको समयमा कालोबजारी गरेको भन्ने जनगुनासोको आधारमा आकस्मिक अनुगमन गर्दा केही व्यापारीहरूले कालोबजारी गरेको पाइएको बताए । उनले भने– महामारीको समयमा अस्वाभाविक मुल्यबृद्धि र कालोबजारी नियन्त्रणका लागि हामीले बजार अनुगमन गरिरहेका छौं । 

महामारीकै बीचमा खाद्य वस्तु उत्पादन तथा आपूर्ति गर्ने व्यापारीहरूले पनि बदमासी गरिरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, बैतडीका सूचना अधिकारी भारतीले भने– खाद्य वस्तु उत्पादन र आपूर्ति गर्ने व्यापारीहरूबाट पनि बदमासी भएको पाइएको छ । कैलालीमा रहेको रश्मी एग्रो प्रोसेसिङले एक महिनापछिको उत्पादन मिति हालेर एक महिना अघि नै बजारमा चामल पठाएको भेटिएको छ । हामीले बजार अनुगमन क्रममा दशरथचन्द नगरपालिका वडा नम्बर ८ मा रहेको लालसिंह मौनीको महामाया जनरल स्टोरबाट २५ केजी तौलका ८९ कट्ठा मोटो चामल फेला पा¥यौं । हामीले तत्कालै ती व्यापारीलाई प्रशासन कार्यालयमा उपस्थित हुन पत्र पठाएका छौं । 

व्यापारी लालसिंहले धनगढीबाटै एक महिनापछिको उत्पादन मिति राखेको चामल पठाएको दाबी गरे । उनले भने– मैले फोन गरेर चामल पठाउन भनेको थिए, उतैबाट त्यस्तो लेवल भएको चामल पठाए छन् । 

उनले बजार अनुगमनका क्रममा धेरैजसो पसलमा मूल्यसूची नराखेको, खरीद बील नभएको, अखाद्य वस्तु विक्रि गर्ने गरेको पाइएको बताए । 

उनले जिल्लाको कुनै पनि बजारमा उपभोग्य सामग्रीको कालोबजारी भईरहेको वा अस्वाभाविक रुपमा मुल्य बृद्धि भएको पाइएमा जानकारी गराउन समेत सबैमा आग्रह गरे । 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update