बैतडी – बैतडीको सदरमुकाम क्षेत्रमा डेङ्गु रोकथाम बारे सचेतनामुलक कार्यक्रम गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा आज सोमबार कार्यक्रम सम्पन्न गरिएको हो । पछिल्लो समय सुदूरपश्चिमका उच्च पहाडी जिल्ला सहित बैतडीमा पनि डेङ्गु सङ्क्रमणबाट मानिसहरू संक्रमित हुन थालेपछि सचेतनामुलक कार्यक्रम गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन जोशीले जानकारी दिए ।
जिल्लामा अहिले १३ जना डेङ्गु संक्रमीत देखिएका छन । एडिस एजिप्टाइ जातको पोथी लाम्खुट्टेको टोकाइबाट डेंगुको संक्रमण मानिसमा हुने गर्दछ । अचानक उच्च ज्वरो आउने,आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्ने, शरीर दुख्ने,घांटी बस्ने, साना बिमिरा आउने, शरीर चिलाउने लगायत यस रोगका लक्षण रहेका छन ।
जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ । डेङ्गु रोगको संक्रमणबाट बच्न आफ्नो घर वरिपरि जम्मा भएको पानि,कुहिने फोहर लगायत लामखुट्टे आउने ठाउँको सरसफाई र डेङ्गु संक्रमण बाट बच्ने उपायकाबारे कार्यक्रम मार्फत सचेतना जगाइरहेको जोशीले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी,सुरक्षा निकायका प्रमुख, जिल्ला अस्पतालका प्रतिनिधि , स्वास्थ्य कार्यालयका कर्मचारी लगायत विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।




