बैतडी –सुदूरपश्चिम प्रदेशमा रहेका विभिन्न खालका हानिकारक प्रचलन अन्त्यका लागि किशोरीहरु सक्रिय हुन थालेका छन् । हानिकारक प्रथा र प्रचलनले समग्र मानव जीवनमा समस्या निम्त्याएकाले यस्ता खालका प्रथा र प्रचलन हटाउन रणनैतिक योजना बनाएर अघि बढ्नुपर्नेमा किशोरीहरुले माग समेत गरेका छन् ।
धनगढीमा आयोजना भएको दुई दिवसीय प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलनमा सहभागी किशोरीहरुले बालविवाह जस्ता हानिकारक प्रचलन अझै कायमै रहेकाले यस्ता खालका समस्या हटाउन सरकार र सरोकारवालाहरुको ध्यान जानुपर्नेमा जोड दिएका छन् । किशोरीमैत्री वातावरण सिर्जना गरेर विद्यालय शिक्षामा पहुँच बढाउनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
किशोरी सम्मेलनले १५ बुँदे घोषणा पत्र समेत जारी गरेको छ । प्रदेशमा विद्यमान बालविवाह, छाउपडीजस्ता हानिकारक अभ्यासहरूको निवारणका लागि एकीकृत प्रयासमार्फत सम्बोधन गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । यसैगरी प्रदेशमा रहेका सम्पूर्ण स्वास्थ्य संस्था किशोर–किशोरीमैत्री बनाई उनीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने, किशोरीहरूमा हुने भौतिक, मनोवैज्ञानिक, यौनिक र आर्थिक हिंसाहरूको रणनीतिक रूपले सम्बोधन गरेर महिला तथा किशोरी हिंसामुक्त प्रदेश बनाउनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
घोषणापत्रमा उल्लेख गरिएका कुराहरुलाई कार्यान्वयन गर्न सरकार र सरोकारवालाहरुलाई आग्रह गरिएको सम्मेलनमा सहभागी किशोरी हरिना भट्टले बताइन् । उनले भनिन् ‘हामीले सम्मेलन मार्फत किशोरीहरुका विभिन्न समस्याका बारेमा सरकार र सरोकारवालाहरुलाई जानकारी गराएका छौं । यो सम्मेलनले किशोरीहरुका समस्या समाधान गर्न सहयोग पुग्ने हाम्रो विश्वास छ ।’
किशोरी सम्मेलनले किशोरीहरुका समस्याका समाधानका बिषयमा सरकार र सरोकारवालाहरुलाई ठोस रुपले अघि बढ्न सहज भएको सम्मेलनमा सहभागी अर्की किशोरी सुशीला भट्टले बताइन् ।
सुदूरपश्चिमका ९ ओटै जिल्लाबाट सम्मेलनमा किशोरीहरुको सहभागिता रहेको थियो । उनीहरुले आ–आफ्ना क्षेत्रका समस्याका बारेमा समेत सम्मेलन राखेका फाया नेपालका कार्यक्रम संयोजक लालबहादुर महराले बताए । किशोरीहरुका समस्या र सवालका बिषयमा छलफल गर्नका लागि किशोरीहरुकै सहभागितामा प्रदेशस्तरीय किशोरी सञ्जाल समेत गठन गरिएको उनले बताए ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना एवं संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष र फाया नेपालको सहयोग तथा सहकार्यमा प्रदेशस्तरीय किशोरी सम्मेलन भएको थियो ।




