Sagun Khabar
नमूना विद्यालयको नमूना काम, एकैचोटी सात जना लोकसेवामा पास

दार्चुला –दार्चुलाको लटिनाथ मावि चन्दनपुर चौपतामा अध्ययन गरेका सात जना विद्यार्थीहरु एकैचोटी लोक सेवा आयोगको परीक्षामा उत्तीर्ण भएका छन् । कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको पशु स्वास्थ्य प्राविधिक (पाचौं तह)को लिखित परिक्षामा एकै पटक सो विद्यालयमा अध्ययन गरेका सात जना उत्तीर्ण भएका हुन् । विद्यालयमा पशु विज्ञान तर्फ डिप्लोमा गरेका विद्यार्थीहरु आयोगको लिखित परीक्षमा उत्तीर्ण भएका विद्यालयले जनाएको छ । 

दार्चुलाको दुर्गम क्षेत्रमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेको लटिनाथ माविले गुणस्तरीय शिक्षा दिइरहेको प्रधानाध्यापक केशव बिष्टले बताए । उनले भने ‘शिक्षाका नाममा व्यापार भइरहेका बेला हामीले दुर्गम क्षेत्रमा प्राविधिक शिक्षा सञ्चालन गरेर नमूना बन्ने प्रयास गरिरहेका छौं ।’

करिब ११ सय जना विद्यार्थी अध्ययनरत लटिनाथ मावि पछिल्लो समय विद्यार्थीहरुको रोजाइको केन्द्र बन्दै गएको छ । उक्त विद्यालयमा सुदुरपश्चिमका सबै जिल्लाहरुबाट शिक्षा ग्रहण गर्नका लागि आउने विधार्थीहरुको संख्या बढ्दो रहेको विद्यालयका प्रधानाध्यापक बिष्टले बताए ।

अहिले कृषि विज्ञान र पशु विज्ञानमा डिप्लोमा तथा डिप्लोमा इन फरेस्टीको पढाई भइरहेको विद्यालयले जनाएको छ । प्राविधिक शिक्षामा देशकै नमूना विद्यालय बनाउने आफूहरुको सोच रहेको प्रधानाध्यापक बिष्टले बताए । 

यस्तै लटिनाथ नमुना मावि कार्यसम्पादन मूल्यांकनको आधारमा देशभरिकै उत्कृष्ट १० नम्बरमा परेको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update