बैतडी –नवौ राष्ट्रिय परिवार योजना दिवस बैतडीमा पनि मनाइएको छ । व्यवस्थित परिवार हाम्रो अधिकार : हामी सबै जिम्मेवार भन्ने नारा सहित दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न गरिएको हो ।
स्वास्थ्य कार्यालय बैतडीको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र फाया नेपाल धनगढीको आयोजनामा जगन्नाथ बहुमुखी क्याम्पसमा किशोरकिशोरीहरुसंग अन्तरक्रिया गरिएको हो ।
परिवार योजनाका साधनहरुको बारेमा जानकारी दिने, परिवार योजनाको आवश्यकता बिषयमा किशोरकिशोरीहरुलाई जानकारी दिने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको हो । व्यवस्थित परिवारका लागि परिवार योजनाका बिषयमा जानकारी आवश्यक भएकाले त्यो बिषयमा अन्तरक्रियामा छलफल भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । परिवार योजनाका साधनका बिषयमा धेरै किशोरकिशोरीहरुलाई थाहा नहुँदा विभिन्न समस्या देखिरहेकाले उनीहरुलाई परिवार योजनाका बिषयमा जानकारी दिइएको उनले बताए ।
परिवार योजनाका बिषयमा जानकारी भए मात्रै व्यवस्थित र गुणस्तरीय परिवार बनाउन सहज हुने बताउँदै स्वास्थ्य प्रमुख भट्टले स्वास्थ्य सेवालाई संविधानको मौलिक अधिकारको रुपमा राखिएको बताए । परिवार योजना सेवा लगायतका अन्य स्वास्थ्य सेवाका बारेमा किशोरकिशोरीहरुलाई जानकारी हुनु आवश्यक रहेको उनले बताए ।
आजका किशोरकिशोरी भोलिका अभिभावक भएकाले परिवार योजनाका बारेमा जानकारी राख्नका लागि अन्तरक्रियाले महत्वपूर्ण भूमिका खेलेको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए ।
अन्तरक्रियामा किशोरकिशोरीहरुले राखेका जिज्ञासाको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जवाफ समेत दिएका थिए । उनीहरुले परिवार योजनाका साधन, सुरक्षति गर्भपतन, किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यका विभिन्न बिषयमा प्रश्न गरेका थिए ।
अन्तरक्रियामा बोल्दै स्वास्थ्य प्रमुख भट्टले परिवार योजनाका साधनहरु स्वास्थ्य संस्थामा निशुल्क रुपमा पाइने व्यवस्था रहेको बताए । यस्तै तीन महिना सम्मको गर्भलाई सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गर्न पाइने व्यवस्था रहेको बताए । यस्तै किशोरकिशोरीहरुलाई स्वास्थ्य सेवा प्रदानमा सहज होस भनेर किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाको अवधारणा आएको उनले बताए ।





