Sagun Khabar
बैतडीमा म्यादी प्रहरीमा आवेदन दिनेको भीड, एक हजार बढी म्यादी प्रहरी भर्ना गरिने 

बैतडी –म्यादी प्रहरीमा भर्ना खुलेपछि बैतडीमा आवेदन दिनेको भीड बढेको छ । असोज ६ गते सम्म म्यादी प्रहरीका लागि आवेदन दिन सकिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । 

आसन्न निर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गराउने कार्यमा सहयोग गर्न म्यादी प्रहरीको भर्ना खोलिएको हो । निर्वाचन सुरक्षाका लागि एक हजारदेखि एक हजार एक सयको हाराहारीमा जिल्लामा म्यादी प्रहरी परिचालन गर्ने तयारी रहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए । उनले भने ‘निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीको आवेदन खुला गरेका छौं । म्यादीमा आवेदन भर्नेको भीड लागेको छ ।’

म्यादी प्रहरीमा आवेदन दिनेहरु मध्ये स्थानीय तहको निर्वाचनमा म्यादी भएर काम गरेका र पूर्व सुरक्षाकर्मीहरुलाई छनोटमा प्राथमिकता दिइने प्रहरी नायब उपरीक्षक शाहीले बताए । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातारणमा सम्पन्न गर्नका लागि सुरक्षा रणनीति तयार पारिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए । यस्तै जिल्लाका विभिन्न ठाउँमा रहेका मतदानस्थल र मतदान केन्द्रको समेत जिल्ला सुरक्षा समितिका तर्फबाट अनुगमन गरिएको बताइएको छ । 

बैतडीका १० ओटा स्थानीय तहमा १२९ ओटा मतदानस्थल र २०५ ओटा मतदान केन्द्रहरु रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update