बैतडी –मुक्त हलियाका सवालमा बैतडीमा स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको छ । गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा दलित समुदाय र मुक्त हलियाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको हो ।
मुक्त हलियाका लागि योजना बनाउन सहयोग पुगोस भनेर जिल्ला हलिया मुक्ति समाज र राष्ट्रिय हलिया मुक्त महासंघको आयोजनामा प्रशिक्षण दिइएको हो । प्रशिक्षणका लागि लुथरन विश्व फेडरेसनको सहयोग रहेको जिल्ला हलिया मुक्ति समाजका उपाध्यक्ष जयराम लुहारले बताए ।
मुक्त हलियाहरुका लागि स्थानीय सरकारबाट योजना कसरी बनाउन सकिन्छ ? मुक्त हलियाहरुका सवाललाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने हेतुले दुई दिन सम्म प्रशिक्षण दिइएको लुहारले बताए । दशरथचन्द नगरपालिकाको हलमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका र सुर्नया गाउँपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षणमा अधिवक्ता हरिसिंह बोहरा र अधिवक्ता ओम प्रकाश साउँदले स्थानीय तहको योजना तर्जुमा प्रक्रिया, शासकीय स्वरुप लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रमपछि स्थानीय तहका जनप्रतिनिधिहरुले योजना र बजेट ल्याउँदा मुक्त हलियाहरुका सवालाहरुलाई सम्बोधन हुने हिसाबले काम गर्ने अपेक्षा गरिएको छ ।





