Sagun Khabar
बैतडीमा दशैं अघि खाद्यको चामल नआउने 

बैतडी –खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बैतडीका चार बिक्री केन्द्रमा दशैँअघि चामल नल्याउने भएको छ । बैतडी सदरमुकामको गोठालापानी, मेलौली नगरपालिका, पुरचौडी नगरपालिकाको हाट र पञ्चेश्वर गाउँपालिकाको कुलाउका लागि आउने चार हजार पाँच सय क्विन्टल चामल नआउने भएको हो । 

चामल ढुवानीका लागि बोलपत्र आह्वान गर्दा टेन्डर नपरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख इन्दिरा बस्नेतले जानकारी दिइन् । 

बैतडीको गोठालापानी बिक्री केन्द्रका लागि पाँच सय क्विन्टल, मेलौली बिक्री केन्द्रका लागि एक हजार क्विन्टल, कुलाउ बिक्री केन्द्रका लागि दुई हजार क्विन्टल र पुरचौडी नगरपालिकाको हाट बिक्री केन्द्रका लागि एक हजार क्विन्टल चामल धनगढी गोदाममा रहेको उनले बताइन् । ढुवानीको टेन्डर नपरेका कारण दशैँअघि बैतडीका लागि चामल आउने सम्भावना नरहेको उनले बताइन् ।

सुदूरपश्चिमका दार्चुला, अछाम, बझाङ, बाजुरा र डोटीका लागि भने टेन्डर परेका कारण चामल ढुवानी भइरहेको खाद्य कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update