बैतडी – संविधान दिवसको अवसरमा जिल्ला कारागार बैतडीमा कैदीबन्दी जीवन बिताइरहेका एकजनाको बाँकी कैद मिनाहा भएको छ । हरेक बर्ष असल चालचलन भएका र आधा सजाय भुक्तान गरिसकेका कैदीहरुलाई संविधान दिवसको अवसर पारेर कैद मिनाहा गर्ने गरिएको छ ।
जिल्ला कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगीरहेका बैतडीको शिवनाथ गाउँपालिका ५ का टेकसिंह साउँदको बाँकी कैद मिनाहा भएको हो । २०६७ साल चैत १२ गतेदेखि कर्तव्य ज्यान मुद्दामा साउँदलाई २० बर्ष जेल सजाय तोकिएको थियो । उनले ११ बर्ष ५ महिना कैद भुक्तान गरिसकेका र बाँकी कैद मिनाहा भएको जिल्ला कारागार बैतडीका जेलर धारा भण्डारीले बताइन् । आम माफीका लागि बैतडीबाट तीन जनाको नाम सिफारिश गरिएको भएपनि साउँदको मात्रै बाँकी कैद मिनाहा भएको हो ।
साउँदको कैद मिनाहा भएसंगै बैतडी कारागारमा अब ७६ जना कैदीबन्दी रहेका छन् । २५ जना क्षमताको कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा निकै समस्या भएको छ ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर ६ सय ८१ कैदीलाई आम माफी दिएकी छिन् ।




