बैतडी –दशैं, तिहार, छठ जस्ता पर्वहरुलाई लक्षित गरेर देशका विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालन हुने भएपनि बैतडीमा भने सुपथ मूल्य पसल सञ्चालन नहुने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय पाटन मार्फत सुपथ मूल्यको पसल सञ्चालन हुँदै आएको भएपनि यो बर्ष भने सुपथ मूल्य सञ्चालन नहुने देखिएको हो । गत बर्ष पनि बैतडीमा सुपथ मूल्य पसलमा सञ्चालनमा आएको थिएन् ।
दशैं, तिहार र छठ जस्ता पर्वमा नागरिकलाई सुपथ मूल्यमा चिनी लगायतका वस्तुहरु उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन हुने भएपनि बैतडीमा गएको दुई बर्ष यता सुपथ मूल्य पसल सञ्चालन हुन सकेको छैन् ।
सुपथ मूल्य पसल सञ्चालनका बिषयमा अहिले सम्म केन्द्रबाट कुनै जानकारी नआएको साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका सूचना अधिकारी तेजबहादुर कुँवरले जानकारी दिए । साल्ट ट्रेडिङसंग चिनी नभएकाले पनि सुपथ मूल्य पसल सञ्चालन हुन कठीनाइ रहेको उनले बताए । उनले भने ‘सुपथ मूल्य पसल सञ्चालनका बिषयमा अहिले सम्म कुनै जानकारी आएको छैन् ।’
सुपथ मूल्य पसल सञ्चालन गर्न भनेपनि पहाडी जिल्लाहरुमा सञ्चालन गर्ने अवस्था नरहेको कुँवरले बताए ।
चाडपर्वको बेला सुपथ मूल्य पसल सञ्चालन नहुँदा नागरिक भने निराश भएका छन् । यहाँका स्थानीय सरकारहरुले पनि सुपथ मूल्य सञ्चालनका बिषयमा ध्यान दिन सकेका छैनन् ।




