बैतडी –संविधान दिवसको अवसरमा बैतडीमा बृहत सरसफाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बृहत सरसफाइ कार्यक्रम सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
संविधान दिवसको अवसर पारेर जिल्लाका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर र जगन्नाथ मन्दिर परिसरमा सरसफाइ गरिएको उनले बताए । बृहत सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, दशरथचन्द नगरपालिका प्रमुख, उपप्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, निजामति कर्मचारी, सुरक्षाकर्मी र स्थानीयहरुको सहभागिता रहेको थियो ।
यस्तै गढी –गोठलापानी सडकखण्डमा पनि दिवसको अवसरमा सरसफाइ गरिएको छ । यसैगरी गढीमा रहेको शहीद दशरथचन्दको शालिकमा माल्यार्पण पनि गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
संविधान दिवसको अवसरमा बैतडीको पाटनमा पनि सरसफाइ गरिएको छ । उता खोड्पे बजारमा पनि दिवसको अवसरमा सरसफाइ गरिएको वडा नं.८ का वडा अध्यक्ष हरिश बिष्टले बताए ।
संविधान दिवसको अवसरमा आज साँझ सबै सरकारी कार्यालयहरुमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । यसअघि दिवसका अवसरमा आइतबार टेबल टेनिस र ब्यामिन्टन प्रतियोगिता सञ्चालन गरिएको थियो ।
यस्तै संविधान दिवसको अवसरमा पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडामा हाजिरीजवाफ प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए ।




