Sagun Khabar
बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा यो बर्ष दशैंको जात्रा र बलि नहुने 

बैतडी –बैतडीको पाटनस्थित प्रसिद्ध सिद्धनाथ –उदयदेव मन्दिरमा यो बर्ष दशैंको बेला जात्रा नहुने भएको छ । मन्दिरका मुख्य पूजारीका जेठा छोराको निधन भएकाले पूजा गर्न नमिल्ने हुँदा मन्दिरमा जात्रा नहुने सिद्धनाथ–उदयदेव धार्मिक सेवा समितिका सचिव भानदेव भट्टले बताए । 

सिद्धनाथ –उदयदेव मन्दिरमा घटनास्थपनादेखि मुख्य पूजा हुने भएपनि पूजारीको घरमा जुठो परेकाले यो बर्ष मुख्य पूजा रोकिएको सिद्धनाथ –उदयदेव धार्मिक सेवा समितिका अध्यक्ष लालबहादुर चन्दले बताए । उनले भने ‘मुख्य पूजारीकै घरमा जुठो परेकाले जात्रा नहुने भएको छ । हामीले बैठक बसेर जात्रा नमाउने निर्णय गरेका छौं ।’

मुख्य पूजारीको विकल्पमा रहेका अर्का पूजारी शिवदत्त जोशी पनि अस्वस्थ रहेका र उनले पूजा गर्न नसकिने बताएपछि जात्रा र पूजा रोक्ने निर्णय गरिएको अध्यक्ष चन्दले बताए । 

दशैंको घटस्थापनादेखि पूजा शुरु हुने सो मन्दिरमा महानवमीका दिन राँगाको बलि सहित जात्रा हुने गरेको थियो । यो बर्ष मुख्य पूजा र राँगाको बलि रोकिएको भट्टले बताए । मैतड जात्राको रुपमा परिचित उदयदेवको जात्रामा यो पालि मुख्य पूजा र बलि नहुने बताइएको छ । 

उदयदेव मन्दिरको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत पुग्ने गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्