बैतडी –बैतडीको पाटनमा निर्माणाधिन बसपार्क अलपत्र परेको छ । आर्थिक बर्ष २०७१÷७२ मा निर्माण शुरु गरिएको बसपार्क अहिले सम्म पूरा हुन सकेको छैन् । पाटन नयाँ शहर आयोजना अन्तर्गत बसपार्क निर्माण भइरहेको भएपनि निर्माण शुरु भएको ८ बर्ष बितिसक्दा समेत बसपार्क निर्माणको काम सम्पन्न हुन सकेको छैन् ।
समयमै बसपार्क सम्पन्न नहुँदा गाडी पार्किङ गर्ने ठाउँ स्थानीयहरुको खर सुकाउने स्थल बनेको छ । यहाँका मानिसहरुले हिउँदमा गाईवस्तुका लागि खर काटेर सुकाउने गर्दछन् । वनापाखाबाट काटेर ल्याएको खर बसपार्कमा सुकाउने गरिएको छ । बसपार्क सञ्चालन नभएका कारण खर सुकाउने गरेको स्थानीय बताएका छन् ।
पाटन नयाँ शहरमा व्यवस्थित बसपार्कको अवधारणा अन्तर्गत बसपार्क निर्माणको काम शुरु भएपनि विभिन्न कारणले अझै पनि बसपार्क निर्माण कार्य सम्पन्न हुन नसकेको पाटन नयाँ शहर आयोजना कार्यालयका निमित्त प्रमुख रोहितराज भण्डारीले बताए ।
१३० मिटर लम्बाइ र ४५ मिटर चौडाइको बसपार्क अन्तर्गत ९० प्रतिशत काम पूरा भइसकेको भएपनि केही काम बाँकी रहेको भण्डारीले बताए । बसपार्क अन्तर्गत काउन्टर भवन र आरसीसी बाटो निर्माण कार्य बाँकी रहेको छ । सो कार्यका लागि ठेक्का जिम्मा पाएको प्रमोद कन्सट्रक्सनले काम नगर्दा समस्या भएको छ । सो कम्पनीसंग ठेक्का सम्झौता गरेको म्याद गएको असारमा सकिएको छ । म्याद थप्ने प्रक्रिया समेत शुरु भएको छैन् ।
समयमै बसपार्क निर्माण कार्य सम्पन्न नहुँदा बनेका संरचनाहरु समेत जीर्ण हुन थालेका छन् । पाटनमा सवारी साधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाएको भएपनि समयमै बसपार्क निर्माणको काम सम्पन्न नहुँदा स्थानीयबासी समेत निराश बनेका छन् ।
८ ओटा बस र ४ ओटा जिप एकै पटक पार्किङ गर्न सक्ने क्षमताको बसपार्क निर्माणमा ढिलाइ हुँदा सवारी साधन बजारमै पार्किङ गर्ने गरिएको छ । यसले गर्दा दुर्घटनाको समेत जोखिम बढ्दै गएको स्थानीय व्यवसायी राकेश जोशीले बताए । उनले भने ‘बसपार्क निर्माण नहुँदा सवारी साधन बजारमै पार्किङ गर्ने गरिएको छ । यसले बजारमा आवतजावत गर्ने मानिसहरुलाई समस्या भएको छ ।’
बसपार्क निर्माण कार्य अन्तर्गत अपांगमैत्री शौचालय, बस र जिपका लागि छुट्टाछुट्टै पार्किङ, आरसीसी बाटो, काउन्टर भवन निर्माण गरिने उल्लेख छ । तर अहिले सम्म काउन्टर भवन नबन्दा समस्या भएको बताइएको छ ।
शुरुमा बजेटेको अभाव, संघीयतापछि कार्यालय केही समय संघ र केही समय प्रदेश मातहत रहँदाको अन्यौल, कोभीड लगायतका कारणले बसपार्क निर्माणमा ढिलाइ भएको दाबी गरिएको छ । तर एउटै बसपार्क ८ बर्षदेखि निर्माण कार्य पूरा नहुँदा स्थानीयबासी भने निराश भएका छन् ।




