बैतडी –बैतडीको तल्लोसोराड क्षेत्रको एक मात्र रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा जहिले पनि डाक्टरकै अभाव हुने गरेको छ । बीचमा एक ÷दुई बर्ष डाक्टर आएका भएपनि अधिकांश समय प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरकै अभाव हुने गरेको छ ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिक उपचारका लागि पुग्ने गरेका छन् । तर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा बिरामीहरुको उपचारमा समस्या हुने गरेको छ । उपचारको आसामा पुगेका नागरिकहरु निराश भएर फर्किनुपर्ने बाध्यता रहेको मेलौली नगरपालिका ७ का केशवसिंह भाटले बताए । उनले भने ‘जति सरकार आएपनि हाम्रो समस्या समाधान भएको छैन् । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा जहिले पनि डाक्टरकै अभाव हुने गरेको छ ।’
गएको डेढ बर्ष यता प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको छ । नगरपालिकाले नियुक्त गरेका डाक्टर पढ्न गएपछि प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन बनेको हो । यता नगरपालिकाले पनि डाक्टरको पूर्तीका लागि आवेदन आह्वान गरेको भएपनि कसैको आवेदन नपरेको जनाएको छ ।
नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको व्यवस्थापनका लागि आवेदन गरेको भएपनि कसैको आवेदन नपरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा एक्सरे, इसीजी, पोष्टमार्टम लगायतका सेवाहरु सञ्चालन गर्न नसकिएको स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए । उनले भने ‘प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा भएका मेसिनहरु पनि सञ्चालनमा ल्याउन सकिएको छैन् ।’
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा पोष्टमार्टम गर्नुपर्ने शवहरु जिल्ला अस्पताल पुर्याउनुपर्ने बाध्यता रही आएको छ ।




