Sagun Khabar
बैतडीमा एमाले चुनावी भेटघाटमा व्यस्त, गठबन्धनभित्र सीट बाँडफाँडमै अलमल 

बैतडी –आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि एमालेले बस्ती भेटघाटमा तिव्रता दिएको छ । सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरेको दाबी गरेको एमालेले अहिले जिल्लाभरी बस्ती भेटघाटमा तीव्रता दिएको हो । औपचारिक रुपमा प्रचारप्रसारका कार्यक्रम शुरु नभएपनि बस्ती भेटघाट र पार्टीका बैठकहरुमा जोड दिइएको एमाले बैतडीका उपाध्यक्ष रमील बमले बताए । 

एमालेले बैतडीबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी, प्रदेश सभा क्षेत्र नं.(क)का लागि जिल्ला अध्यक्ष सुरेन्द्र पाल र प्रदेश सभा क्षेत्र नं.(ख)का लागि केन्द्रिय सदस्य एवं जिल्ला सहइन्चार्ज लिलाधर भट्टलाई उम्मेदवार बनाउने तय गरिसकेको छ । सर्वसम्मत रुपमा उम्मेदवार तय भएपछि भेटघाट र छलफलका कार्यक्रमलाई तीव्रता दिएको उपाध्यक्ष बमले बताए । उनले भने ‘हामीले सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरिसकेका छौं । त्यसैले चुनावी अभियान अन्तर्गत भेटघाट र छलफललाई तीव्रता दिएका छौं ।’

एमालेबाट प्रतिनिधि सभाका लागि दामोदर भण्डारी उम्मेदवार बन्ने निश्चित भएपछि उनी तेश्रो पटक जित हासिल गर्ने दाउमा लागेका छन् । गएको निर्वाचनमा पनि बैतडीबाट निर्वाचित भएका भण्डारीले २०७० सालको संविधान सभा निर्वाचनमा पनि निर्वाचित भएका थिए । 

यस्तै प्रदेश सभा क्षेत्र नं.(ख) मा एमालेका लिलाधर भट्ट दोहोरिने कसरतमा छन् । एमालेबाट उम्मेदवार सुनिश्चित भएपछि उनी पनि अहिले दोश्रो पटक जित निकाल्ने प्रयासमा लागेका छन् । गएको निर्वाचनमा उनी बाम गठबन्धनबाट निर्वाचित भएका थिए । यसपालि एमालेले जिल्ला अध्यक्ष सुरेन्द्र पाललाई क्षेत्र नं.(क)का लागि उम्मेदवार बनाएको छ । 

यता गठबन्धन दलहरुले भने सीट बाँडफाँडकै टुंगो लगाउन सकेका छैनन् । बैतडीमा प्रतिनिधि सभा र प्रदेश सभा कसको भागमा पर्ने भन्ने अन्तिम टुंगो लागि नसकेको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । यद्यपि प्रतिनिधि सभाको टिकट कांग्रेसको भागमा पर्ने उनले दाबी गरे । 

माओवादी केन्द्रले पनि बैतडीमा प्रतिनिधि सभाको सीटका लागि दाबी गरिरहेको छ । गठबन्धन दलहरुका बीचमा सीट बाँडफाँडका बिषयमा टुंगो नलागेकाले निर्वाचन केन्द्रित गतिविधि हुन सकेका छैनन् । 

नेकपा एकीकृत समाजवादीले पनि बैतडीमा एक सीट दाबी गरिरहेको छ । आफूहरुलाई ‘बाइपास’गरे त्यसको परिणाम राम्रो नहुने नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य परमानन्द भट्टले बताए । 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update