Sagun Khabar
बैतडीमा साविकका कृषि सेवा केन्द्र र उपकेन्द्र अलपत्र, नागरिकलाई सेवा लिन सास्ती  
फोटो : सिगास गाउँपालिका २ गाँजरीमा खण्डर बनेको कृषि सेवा केन्द्रको भवन

बैतडी –संघीयता आएपछि बैतडीमा रहेका साविकका कृषि सेवा केन्द्र र उपकेन्द्रहरु अलपत्र परेका छन् । स्थानीय तहहरुलाई कृषि सेवा केन्द्र र उपकेन्द्रहरु हस्तान्तरण गरिएका भएपनि कतिपय ठाउँका केन्द्रहरु प्रयोग विहिन बनेका छन् । 

पालिकाको केन्द्रमै कृषि शाखा रहने भएकाले पालिकाको केन्द्र भन्दा टाढा रहेका कृषि सेवा केन्द्र र उपकेन्द्रका भवन अलपत्र परेका हुन् । 

बैतडीमा तत्कालिन जिल्ला कृषि विकास कार्यालय मातहत ९ ओटा कृषि सेवा केन्द्र र उपकेन्द्रहरु रहेका थिए । ती सबै केन्द्र र उपकेन्द्रहरु स्थानीय सरकारलाई हस्तान्तरण गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख गोपालदत्त भट्टले बताए । 

कतिपय स्थानीय तहहरुले कृषि सेवा केन्द्र र उपकेन्द्रका भवन प्रयोग नगर्दा भवनहरु खण्डहर बनेका छन् भने स्थानीयहरु सेवा पाउनबाट वञ्चित भएका छन् । ३० वर्षभन्दा लामो समयदेखि कृषिको सेवा दिएको गाँजरी कृषि सेवा केन्द्र खण्डहर बनेको स्थानीयहरुले बताएका छन् । कृषि सेवा केन्द्रबाट सेवा बन्द भएपछि यहाँका नागरिकहरुलाई धेरै समस्या भएको छ । 

स्थानीय तहको पुनर्संरचनापछि कृषि सेवाको अधिकार गाउँपालिका केन्द्रमा सरेपछि नागरिकहरुलाई सेवा लिन समस्या भएका स्थानीय किसान दानसिंह बोहराले बताए । 

जिल्लाको सुर्नया गाउँपालिका  वडा नं २ सतबाँझमा रहेको कृषि सेवा केन्द्र पनि बन्द भएको छ । केही तालिमहरु सञ्चालन गर्नका लागि मात्रै केन्द्र खोल्ने गरिएको छ । कृषिको सेवा पालिकाको केन्द्रबाट दिने भएपछि कृषि सेवा केन्द्र बन्द भएको हो । तर कृषि सेवा केन्द्र र उपकेन्द्रहरु बन्द हुँदा स्थानीय नागरिकहरुलाई निकै समस्या भएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update