Sagun Khabar
बैतडी विमानस्थल पाटनमा दशैंमा पनि हवाई उडान नहुने 

बैतडी –बैतडी विमानस्थल पाटनमा दशैंमा पनि हवाई उडान नहुने भएको छ । गएको चैतदेखि बन्द भएको हवाई उडान दशैंमा सञ्चालन हुने अपेक्षा गरिएको थियो । निजी हवाई कम्पनी समीट एयरले साप्ताहिक रुपमा गर्दै आएको उडान गएको चैतदेखि बन्द भएको छ । यात्रु अभावको कारण देखाउँदै समीटले हवाई उडान बन्द गरेको हो । 

यात्रुहरु पनि कम पाइने भएकाले चैतको महिनादेखि पर्यटक बढी भएको ठाउँमा कम्पनीले हवाईजहाज अन्तै लगेपछि पाटनमा उडान रोकिएको समीट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए । दशैंको समयमा पनि यात्रुहरुको सुनिश्चितता नभएकाले उडान हुने सम्भवाना नरहेको उनले बताए । उनले भने ‘यात्रुहरुको अभाव कम्पनी उडान भर्न सकेको छैन् । दशैंको समयमा त झन् एकतर्फी मात्रै यात्रु हुन्छन् । त्यसैले उडान हुने सम्भावना छैन् ।’

बैतडी विमानस्थल पाटनमा हवाई उडान शुरु हुँदा खुसी भएका स्थानीय हवाई उडान बन्द भएपछि निराश भएका छन् । हवाई उडान शुरु हुँदै महंगो भाडा भएको भन्दै स्थानीयहरुले असन्तुष्टी पोखेका थिए । महंगो भाडाकै कारण सर्वसाधरणको पहुँच नभएको गुनासो समेत आइरहेको थियो । 

गएको चैतदेखि हवाई उडान बन्द भएपछि आकस्मिक बिरामी र अन्य यात्रुहरुलाई समस्या भएको पाटनका स्थानीय चमनकुमार भण्डारीले बताए । हवाई उडान सेवालाई नियमित गर्नका लागि हवाई कम्पनी र स्थानीय सरकारले बसेर छलफल गर्नुपर्ने उनले बताए । हवाई कम्पनीले यात्रु नपाएको भनिरहेको र यात्रुहरुले महंगो भाडा भनिरहेका बेला यो समस्या समाधान हुनुपर्नेमा उनले जोड दिए । उनले भने ‘विमानस्थलमा शुरु भएको हवाई उडान बन्द हुनु राम्रो कुरा हैन् । त्यसैले सरोकारवालाहरु बसेर समस्या समाधान गर्नुपर्छ ।’

दशैंको समयमा समेत हवाई उडान सुचारु नहुने भएपछि स्थानीयहरु निराश बनेका पाटनका स्थानीय धुर्व बिष्टले बताए । हवाई उडान नियमित गर्नका लागि सरोकारवालाहरुले ध्यान दिनुपर्नेमा उनले जोड दिए । हवाई उडान बन्द हुँदा दशैंको समयमा आउने धार्मिक पर्यटकहरुलाई समेत समस्या भएको बिष्टले बताए । 

बैतडीमा दशैंको समयमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा जात्रा लाग्ने भएकाले बाहिर रहेकाहरु समेत जिल्ला भित्रिने गर्दछन् । कैलाली, कञ्चनपुर र काठमाण्डौंबाट समेत दर्शनार्थीहरु आउने भएकाले यो समय हवाई उडान आवश्यक रहेको बिष्टले बताए । तर हवाई कम्पनीले भने यो समयमा एकतर्फी मात्रै यात्रु हुने भएकाले उडान हुने सम्भावना नरहेको बताएको छ ।  

बैतडी विमानस्थल पाटनमा अब कहिलेदेखि हवाई उडान हुन्छ भन्ने प्रश्न अनुत्तरित रहेको छ । ११ करोड खर्च गरेर पुननिर्माण गरिएको विमानस्थलमा हवाई उडान नहुँदा स्थानीयबासी निराश भएका छन् । तामझामका साथ उद्दघाटन गरिएको विमानस्थलमा हवाई उडानका लागि कसैले पहल गरेको देखिदैन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update