Sagun Khabar
बैतडीको सुर्नयाका विद्यालयमा खेताला शिक्षक राखेको खुलासा, पालिकाले गर्यो पत्राचार 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकास्थित दुई विद्यालयले खेताला शिक्षक राखेको खुलासा भएको छ । गाउँपालिकाको वडा नं ७ स्थित केदार मावि कठमडामा लामो समयदेखि हिरा साउँदले आफ्नो ठाउँमा खेताला शिक्षक राखेको खुलेको हो । 

गएको तीन बर्ष यता उनले खेताला शिक्षक राखेर तलब बुझेको पाइएको छ । गएको तीन बर्षमा पहिला कृष्ण साउँद र अहिले लक्ष्मी साउँदलाई शिक्षक राखेको पाइएको छ । विद्यालयका भूतपूर्व प्रधानाध्यापक धनसिंह साउँदकी बुहारी समेत रहेकी हिराले खेताला शिक्षक राखेको भन्दै गुनासो आएपछि पालिकाले पत्राचार गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । 

विद्यालयमा गएको तीन बर्षदेखि हिरा साउँदले आफ्नो सट्टामा शिक्षक राखेको र आफू एक बर्षदेखि मात्रै विद्यालयको प्रधानाध्यापक पदमा रहेको केदार माविका प्रधानाध्यापक उत्तरबहादुर कुँवरले बताए । पूर्व प्रधानाध्यापककै कार्यकालमा यो काम भएको उनले बताए । 

यस्तै सुर्नया गाउँपालिका ६ स्थित शंकर संस्कृत मावि मूलखटालीमा पनि खेताला शिक्षक राखेको गुनासो आएको छ । उच्च मावि तहमा कार्यरत मानबहादुर कुँवरले खेताला शिक्षक राखेको गुनासो आएको हो । मानबहादुर कुँवर सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरका सहोदर भाइ समेत हुन् । 

यो बिषयमा विद्यालयका प्रधानाध्यापक रामबहादुर बिष्टले मानबहादुर कुँवर गएको वैशाखदेखि विद्यालयमा हाजिर नभएका बताए । आफूले शिक्षक कुँवरलाई विद्यालयमा आउन अथवा राजीनामा दिन आग्रह गरेको उनले बताए । 

शंकर संस्कृत मावि मूलखटालीमा पनि खेताला शिक्षकका बिषयमा गुनासो आएकाले विद्यालयलाई पत्राचार गरेको शिक्षा शाखा प्रमुख अवस्थीले बताए । तर विद्यालयका प्रधानाध्यापक बिष्टले भने पालिकाको पत्र विद्यालयमा नपुगेका दाबी गरे । 

खेताला शिक्षक राखेको गुनासो आएका विद्यालयमा पत्राचार गरिएको र यथार्थ विवरण उपलब्ध गराउन आग्रह गरिएको शिक्षा शाखा प्रमुख अवस्थीले बताए । विवरण नआउँदा सम्म उनीहरुको तलब रोक्का गरिने उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्