
बैतडी –बैतडीको डिलाशैनी स्वास्थ्यचौकीबाट चिकित्सक सहितको सेवा शुरु हुने भएको छ । गाउँपालिकाले डिलाशैनी स्वास्थ्यचौकीबाट चिकित्सक सहितको सेवा प्रदान गर्ने घोषणा गरे अनुसार सेवा सुचारु हुने गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।
पालिकाले डिलाशैनी स्वास्थ्यचौकीका लागि चिकित्सको आवेदन आह्वान गरेकोमा डा. प्रदीप गुरुङ छनोट भई पालिकामा आइसकेका प्रवक्ता भट्टले बताए ।
पालिकाभित्रको स्वास्थ्य क्षेत्रलाई कसरी गुणस्तरीय बनाउने भन्ने बिषयमा डा. गुरुङ सहितको सहभागितामा आज गोकुलेश्वर स्वास्थ्यचौकीमा समीक्षा बैठक सम्पन्न भएको उनले बताए ।
गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, पालिकाभित्र रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुको समेत सहभागितामा समीक्षा बैठक सम्पन्न भएको प्रवक्ता भट्टले बताए ।
गाउँपालिकामा डाक्टर आइसकेकाले गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ को डिलाशैनीबाट केही दिनभित्रै चिकित्सक सहितको सेवा सुचारु हुने गाउँपालिकाले जनाएको छ ।
डा.गुरुङले डिलाशैनी स्वास्थ्यचौकीका साथै आवश्यकता अनुसार अन्य स्वास्थ्य संस्थामा समेत पुगेर सेवा दिने बताइएको छ । गाउँपालिकाबासीहरुको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन पालिकाले आफ्नै डाक्टर नियुक्त गरेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । उनले भने ‘हामी पालिकाबासीको स्वास्थ्य सेवामा पहुँच पुगोस भनेर काम गरिरहेका छौं । सकेसम्म गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्राथमिकतामा रहेको छ ।’