बैतडी –बैतडीका विभिन्न स्थानमा सञ्चालनमा रहेका साना उद्योगहरुको अनुगमन कार्य शुरु भएको छ । खाद्य प्रवधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जिल्लामा सञ्चालित साना उद्योगहरुको अनुगमन कार्य शुरु गरेको हो ।
उद्योगहरुमा गुणस्तर कायम गर्नका लागि अनुगमन थालिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रवीन अधिकारीले बताए । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका चाउमीन उद्योग,मसला उद्योग र आटामिलको अनुगमन गरिएको अधिकारीले बताए ।
अनुगमन गरिएका केही ठाउँमा सरसफाइको अभाव देखिएकाले सरसफाइ गर्न निर्देशन दिइएको उनले बताए । यस्तै उद्योग सञ्चालनका लागि अनुज्ञा पत्र नलिएकाहरुलाई अनुज्ञा पत्र लिन आग्रह गरिएको अधिकारीले बताए । उद्योग सञ्चालनका लागि धनगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञा पत्र लिनुपर्ने बताइएको छ ।
यस्तै अनुज्ञा पत्र लिएकाहरुलाई समयमै नवीकरण गर्न पनि आग्रह गरिएको अधिकारीले बताए । चाडपर्वलाई लक्षित गरेर साना उद्योगहरुमा अनुगमन गरिएको हो ।
पाटनमा ३ ओटा चाउमीन उद्योग, सुर्नयामा एउटा मसला उद्योग र गोकुलेश्वरमा एउटा आटा मिलमा अनुगमन गरिएको अधिकारीले बताए ।
यस्तै चाडपर्व लक्षित बजार अनुगमन कार्य पनि जारी रहेको छ । संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन कार्य जारी राखेको हो । अहिले सम्म दशरथचन्द नगरपालिका, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न बजारमा अनुगमन गरिएको बताइएको छ ।
अनुगमनका क्रममा फेला परेका म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।




