Sagun Khabar
परिमार्जित पाठ्यक्रम लागू भएका बैतडीका विद्यालयमा अनुगमन 

बैतडी –परीक्षणका रुपमा परिमार्जित पाठ्यक्रम लागू भएका बैतडीका विद्यालयमा अनुगमन गरिएको छ । परीक्षणका रुपमा लागू भएको पाठ्यक्रमका बिषयमा जानकारी लिनका लागि पाठ्यक्रम विकास केन्द्रका निर्देशकको सहितको टोली अनुगमन गरेर फर्केको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । 

पाठ्यक्रम विकास केन्द्रले देशभरका २८ विद्यालयमा  कक्षा ५ को परिमार्जित पाठ्यक्रम लागू गरेको छ । ती मध्ये बैतडीको दशरथचन्द नगरपालिका १ स्थित केदार आधारभूत विद्यालय डोडरचौर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय पाली र जगन्नाथ आधारभूत विद्यालय नौहाटमा परिमार्जित पाठ्यक्रम परीक्षणका रुपमा लागू गरिएको अवस्थीले बताए । 

यस्तै कक्षा ८ र १० को परिमार्जित पाठ्यक्रम निङ्गलाशैनी मावि देहीमाण्डौं र दशरथचन्द मावि सुन्दरखालीमा परीक्षणका रुपमा लागू गरिएको बताइएको छ । ती पाँचओटै विद्यालयमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक कृष्णप्रसाद बस्याल र पाठ्यक्रम अधिकृत नवीन खड्का सहितको टोलीले अनुगमन गरेको हो । 

पाठ्यक्रम निर्देशिका अनुसार प्रत्येक १० वर्षमा परिमार्जन हुने पाठ्यक्रमको नमुना सुदूरपश्चिम प्रदेशको बैतडीका पाँच विद्यालयमा परीक्षणको रूपमा लागू भएकाले विद्यालय अनुगमनका लागि टोली बैतडी पुगेको थियो ।  

परीक्षणका रुपमा पाठ्यक्रम लागू भएका विद्यालयमा पाठ्यक्रममा लागू गर्दा देखिएका समस्या, आगामी दिनमा सुधार गर्नुपर्ने लगायतका कुरा टोलीले टिपोट गरेर लगेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख अवस्थीले बताए । परीक्षणका रुपमा लागू भएका ठाउँमा स्थलगत अध्ययनपछि पाठ्यक्रममा थप सुधार गरेर आगामी शैक्षिक सत्रबाट देशैभर लागू हुने बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update