Sagun Khabar
बैतडीको दनपामा बालविकास सहजकर्ता आन्दोलित, शिक्षा शाखामा गरे तालाबन्दी 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत बालविकास सहजकर्ता आन्दोलित भएका छन् । आफूहरुले बढेको तलब नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । आन्दोलनमा उत्रेका बालविकास सहजकर्ताहरुले नगरपालिकाको शिक्षा शाखामा शुक्रबार तालाबन्दी गरेका छन् । आफूहरुले बढाएको तलब नपाएको भन्दै शिक्षा शाखामा तालाबन्दी गरेको बालविकास सहजकर्ता मञ्जु भट्टले बताइन् । उनले भनिन् ‘हामीले हाम्रो मागका बिषयमा नगरपालिकाको ध्यानाकर्षण गरायौं । गएको बर्ष पनि हामीले बढेको तलब पाएनौं । यो बर्ष पनि नगरपालिकाले तलब दिन आनाकानी गरेपछि तालाबन्दी गरेका हौं ।’

आफूहरुको मागका बिषयमा नगर प्रमुखले समेत चासो नदिएको बालविकास सहजकर्ताहरुले आरोप लगाएका छन् । आफूहरुका माग पूरा नहुँदा सम्म तालाबन्दी नखुल्ने उनीहरुले चेतावनी दिएका छन् । 

नगरपालिकाले विद्यालय कर्मचारीहरुको माग पूरा गरेको भएपनि बालविकास सहजकर्ताहरुको माग पूरा नगरेकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको अर्का बालविकास सहजकर्ता भागरथी भण्डारीले बताइन् । गत बर्ष नै नगरपालिकाले संघीय सरकारले दिएको तलबमा ७ हजार थप गर्ने निर्णय गरेको भएपनि अहिलेको नगर सरकारले त्यो सुविधा समेत कटौती गरेकाले आन्दोलनमा उत्रिनुपरेको भण्डारीले बताइन् । 

बैतडीको दशरथचन्द नगरपालिकाभित्र ७१ जना बालविकास सहजकर्ताहरु रहेका छन् । आफूहरु महिला भएकै कारण सरकारले हेपेको उनीहरुले आरोप लगाएका छन् । आफूहरुका मागका बिषयमा नगर सरकारले सुन्नै नचाहेको बालविकास सहजकर्ताहरुले बताएका छन् । माग पूरा नभए आइतबार नगरपालिकामा समेत तालाबन्दी गर्ने उनीहरुले चेतावनी दिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update